अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कादेखि पुराना अभिनेता भुवन केसीसम्म रोमान्स गरिसकेकी अभिनेत्री रीमा विश्वकर्मालाई ‘नेपाल आइडल’ ले दर्शकको ठूलो वर्गमा चिनायो । गत वर्षबाट कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा उद्घोषिकाको जिम्मेवारी सम्हालेकी उनले फिल्म करिअरको एक दशकमा विवाद र आलोचनाको खासै सामना गर्नु परेको थिएन ।
.jpg)
तर, विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि घरभित्रै नजरबन्द भएकी अभिनेत्री रीमा केही दिनयता सामाजिक सञ्जालमा मजाकको पात्र बनेकी छन् । हप्ता दिनअघि फेसबुक लाइभमा आफ्ना एक प्रशंसकले ‘लकडाउनमा के पकाउन सिक्नुभयो ?’ भन्ने प्रश्नमा उनले जुन अभिव्यक्ति दिइन्, त्यसले उनको छवि नै धमिल्याएको छ ।
उनले लकडाउनको समयमा आफूले कालो चिया बनाउन सिकेको बताएकी थिइन् । रीमाको जवाफ थियो, ‘लकडाउनको समयमा कालो चिया बनाउन सिकेँ । मसँग भान्साको काम गर्ने समय हुँदैन । मेरो कामको प्रकृति नै फरक छ । अब बल्ल पकाउन सिक्दैछु ।’ उनको यो कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न खाले टिका टिप्पणीसँगै गालीको वर्षात भएको छ ।
.jpg)
मंगलवार रीमाले आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमा रोशन नाम गरेका एक युवकले अपशब्द प्रयोग गर्दै गाली गरेको कमेन्ट शेयर गरेकी छन् । जसमा रीमाको डिभोर्सको कुरा समेत उठाइएको छ । उक्त पोष्टमा उनले प्रश्न गर्दै लेखेकी छन्, ‘यति घृणा किन ?’ केही दिनअघि उनले फेसबुकमा आफूले कालो चिया बनाउन सिकेको, बम होइन भन्दै स्टाटस पनि लेखेकी थिइन् ।

