Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञी, पूजा र स्वस्तिमा नचलेको वर्ष २०७६

फिल्मीखबर, काठमाडौं, 2020/04/13
वर्ष २०७६ ले सोमवारबाट औपचारिक रुपमा विदा लिएर नयाँ वर्ष २०७७ शुभारम्भ भएको छ । अघिल्ला वर्षहरुमा नयाँ वर्ष धुमधामका साथ मनाइने गरिन्थ्यो । तर, यसपटक २०७६ को विदाई र नयाँ वर्षको स्वागत घरभित्रैबाट गर्नुपरेको छ । संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि देशका अधिकांश जनता घरभित्रै छन् ।
 
वर्ष २०७६ मा देशले आर्थिक वा अन्य रुपमा कस्तो उपलब्धि हासिल गर्‍यो त्यसको समीक्षा गर्न बाँकी नै होला ! तर, नेपाली फिल्म क्षेत्रका लागि गत वर्ष खासै सम्झनलायक बन्न सकेन । यस वर्ष ५५ फिल्म प्रदर्शनमा आएकोमा जम्मा तीन फिल्म ‘जात्रै–जात्रै’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ मात्र ‘क्लिन हिट’ भए । अर्थात्, यी फिल्मले लगानी उठाएर नाफा कमाए । 
 
‘दाल भात तरकारी’ र ‘आमा’ भने जेनतेन लगानी उठाउन सफल फिल्ममा दरिए । बाँकी ५० वटा फिल्मले लगानीको आधा प्रतिशत रकम पनि उठाउन सकेनन् । ‘हजार जुनीसम्म, घामड शेरे, पोइ पर्‍यो काले, मारुनी, रातो टीका निधारमा, जाइरा, चच हुईं, साङ्लो, सेल्फी किङ, सेन्टी भाइरस’ लगायत दर्जन बढी आश गरिएका फिल्म समेत नचलेको वर्ष बन्न पुग्यो, २०७६ । 
 
 
गत वर्ष स्टारडम भएका भनिएका तीन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा र स्वस्तिमा खड्का समेत चल्न सकेनन् । साम्राज्ञी र स्वस्तिमाको गत वर्ष दुई फिल्म प्रदर्शनमा आएका थिए भने पूजाको एउटा मात्र फिल्म प्रदर्शनमा आयो । साम्राज्ञीको भदौमा ‘मारुनी’ र असोजमा ‘रातो टीका निधारमा’ प्रदर्शनमा आएका थिए, तर यी दुवै फिल्मले बक्सअफिसमा घुँडा टेके ।
 
साम्राज्ञीको स्टारडमले यी दुई फिल्मको इनिसियल व्यापार राम्रो हुने अपेक्षा गरिएको थियो । तर, विभिन्न खाले विवादका कारण कमजोर भएको उनको स्टारडमले हलसम्म दर्शक तान्न सकेन । डेढ महिनाको अन्तरमा दुई फिल्म डिजास्टर सावित हुँदा साम्राज्ञीको करिअर नै संकटमा परेको छ । अब, उनी राम्रो स्क्रिप्टबाट अफर आए वर्षमा एउटा मात्र फिल्म गर्ने सोचमा छिन् ।
 
त्यस्तै, फिल्म ‘म यस्तो गाीत गाउँछु’ ले पूजा शर्मालाई आफ्नै काँधमा फिल्म बोक्न सक्ने अभिनेत्रीको रुपमा चिनाएको थियो । तर, गत वर्ष उनी पनि हलमा दर्शक तान्न असफल रहिन् । उनी अभिनीत फिल्म ‘पोइ पर्‍यो काले’ गत वर्षको कात्तिकमा प्रदर्शनमा आएको थियो । निर्माताले हलबाट लगानी उठाएको दाबी गरे पनि वास्तवमा फिल्मले बक्सअफिसमा घुँडा टेकेको थियो । 
 
फिल्म ‘बुलबुल’ बाट वाहवाही बटुलेकी अभिनेत्री स्वस्तिमा खड्काले पनि गत वर्ष आफ्नो जादू देखाउन सकिनन् । साउनमा ‘हजार जुनीसम्म’ र कात्तिकमा प्रदर्शन भएको ‘घामड शेरे’ दुवै बक्सअफिसमा निकम्बा सावित भए । यी फिल्म सफलताबाट मात्र बञ्चित भएनन्, स्वस्तिमाको अभिनयको पनि प्रशंसा भएन । अर्थात्, ‘बुलबुल’ ले बनाएको साख उनले बचाउन सकिनन् ।
Most Visited News (monthly)