Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सरोज खनालको स्पष्टिकरण- ‘यो समय परिवारसँग विताउन उचित सम्झिएँ’

फिल्मीखबर, काठमाण्डौ, 2020/04/09
कोरोना भाइरसबाट अमेरिका सबैभन्दा पीडित राष्ट्र बनेको छ । विश्वमै १५ लाख १३ हजार २४३ जना संक्रमित हुँदा अमेरिकामा मात्र ४ लाख २० हजार २१० जना संक्रमित भएका छन् । अहिलेसम्म त्यहाँ यो भाइरसबाट १४ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाको संक्रमणपछि अमेरिका विश्व शक्तिराष्ट्रको पहिलो नम्बरबाट हट्नसक्ने अनुमान समेत गरिएको छ । 
 
 
अमेरिकामा कोभिड १९ को संक्रमणले भयावह रुप लिइरहेको अवस्थामा गएको आइतवार अभिनेता सरोज खनाल परिवारसँग भेट गर्न कतार एयरवेजको चार्टर्ड विमानबाट अमेरिका उडेका थिए । अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना नागरिक स्वदेश फर्काउने क्रममा ग्रिनकार्ड होल्डर खनाल पनि अमेरिका प्रस्थान गरेका हुन् । उनी सुरक्षित रुपमा अमेरिका पुगेका छन् ।
 
‘लकडाउन’ को समयमा अमेरिकी सरकारले आफ्नो नागरिक फर्काउन चार्टर्ड गरेको विमानबाट अमेरिका उडेको खबर बाहिरिएपछि अभिनेता खनालको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कतिले शक्तिशाली देशमा पुगेपछि कोरोनाबाट बच्न सकिन्छ भनेर देश छाडेको आरोप आएका छन् भने कतिले विपत्तको समयमा देश छाड्न नहुने तर्क राखेका छन् ।
 
कोरोनाको सन्त्रासबीच अमेरिका उडेको विषयमा सामाजिक सञ्जालमा भइरहेको टिका टिप्पणीको बारेमा अभिनेता सरोज खनालले अमेरिका ओर्लिएपछि आफ्नो स्पष्टिकरण दिएका छन् । उनले यो समय आफ्नो परिवारसँग विताउन उचित सम्झिएकाले अमेरिका आइपुगेको फेसबुकमा उल्लेख गरेका छन् । उनले जसले जे भने पनि आफूलाई कुनै फरक नपर्ने पनि बताएका छन् ।
 

श्रीमती र नाती-नातिनासँगको एक तस्विर पोस्ट्याउँदै अभिनेता सरोज खनालले फेसबुकमा लेखेका छन्, ‘सर्वे भवन्तु सुखिनःसर्वे संतु निरामयः जसले जे भने पनि यो समय परिवारसँग विताउन उचित सम्झिएँ । जे पर्ला त्यही टर्ला ।’ करीब एक दशक अमेरिका बसेर बुढ्यौली समयमा स्वदेश फर्किएका अभिनेता खनालका छोराहरु भने अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् ।
Most Visited News (monthly)