साउथ सुपरस्टार अल्लू अर्जुन बुधवारबाट ३७औं वर्षमा प्रवेश गरेका छन् । सन् १९८३ अप्रिल ८ मा उनको जन्म भारतको चेन्नईमा भएको थियो । उनी निर्माता अल्लू अरविन्दका छोरा हुन् । अल्लू अर्जुन एक कुशल अभिनेतासँगै सानदार डान्सर पनि हुन् । उनको फ्यान फलोइंग विश्वभर छ । उनले आफ्नो जन्मदिनको अवसरमा नयाँ फिल्म ‘पुष्पा’ को फर्स्ट लुक सार्वजनिक गरेका छन् ।
हरेक प्रकार भूमिकालाई जीवन्त ढंगबाट प्रस्तुत गर्न सक्ने अभिनेता अल्लू अर्जुनले आफ्नो करिअरको सुरुवात बाल कलाकारको रुपमा सन् १९८५ मा आएको फिल्म ‘विजथा’ बाट गरेका थिए । उनले सन् २००३ मा प्रदर्शनमा आएको फिल्म ‘गंगोत्री’ बाट लिड अभिनेताको रुपमा डेब्यू गरेका थिए । उनले सन् २०११ मा स्नेहा रेड्डीसँग विवाह गरेका थिए । उनीहरुका दुई सन्तान छन् ।

जन्मदिनको विशेष अवसरमा हामी तपाईंहरुलाई स्टाइलिस अभिनेता अल्लू अर्जुन अभिनीत उत्कृष्ट पाँच फिल्मको बारेमा बताउँदैछौं ।
‘आर्या’
सन् २००४ मा प्रदर्शनमा आएको तेलुगू फिल्म ‘आर्या’ ले बक्सअफिसमा धूम मच्चाएको थियो । यो फिल्मको हिन्दी डबिङ नर्थ इन्डियाका दर्शकलाई पनि निकै मन परेको थियो । फिल्मको निर्देशन सुकुमारले गरेका थिए । फिल्ममा अल्लूको अभिनयसँगै डान्सको निकै तारिफ भएको थियो ।
‘वेदम’
सन् २०१० मा प्रदर्शनमा आएको फिल्म ‘वेदम’ मा अल्लू अर्जुनले केबल राजूको भूमिका निभाएका थिए । फिल्मको क्लाइमेक्स सिनमा दर्शकलाई उनले आफ्नो उत्कृष्ट अभिनयबाट इमोसनल बनाएका थिए । फिल्ममा उनका अलावा अनुष्का शेट्टी र मनोज वाजपेयीको पनि प्रमुख भूमिका थियो । फिल्मको निर्देशन कृषले गरेका थिए ।
‘रुद्रमादेवी’
सन् २०१५ मा फिल्म ‘रुद्रमादेवी’ प्रदर्शनमा आएको थियो । एकतर्फ फिल्ममा अनुष्का शेट्टीले आफ्नो जबरजस्त अभिनयबाट दर्शकको मन जितेकी थिइन् भने केमियो भूमिकामा रहेका अल्लू अर्जुनले आफ्नो दमदार डाइलगबाट सबैलाई कायल बनाएका थिए । फिल्ममा अल्लूले गोना गाना रेड्डीको भूमिका निभाएका थिए ।
‘जुलायी’
निर्देशक त्रिविक्रमसँग पहिलो पटक अल्लू अर्जुनले फिल्म ‘जुलायी’ मा काम गरेका थिए । फिल्म एक बैंक चोरीको कथामा आधारित थियो । फिल्ममा एक्सनसँगै कमेडीको डोज पनि थियो । फिल्ममा अल्लू अर्जुनसँगै श्रीनिवास राव, सोनू सूद, राजेन्द्र प्रसाद, ब्रह्मानन्दम र इलियान डिक्रूजको अभिनय थियो ।
‘सन अफ सत्यमूर्ति’
सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म सन अफ सत्यमूर्ति’ मा अल्लू अर्जुनको जोडी सामन्था अक्किनेनीसँग बाँधिएको थियो । फिल्ममा अल्लू र सामन्थासँगै श्री विषु, नित्या मेनन, स्नेहा र उपेन्द्र पनि देखिएका थिए । फिल्मको डाइलग र गीतसंगीतले तेलुगू मात्र नभइ मलयालम फिल्मका दर्शकको पनि मन जितेको थियो । फिल्मले करीब सय करोड कमाएको थियो ।

