कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले दुई हप्ता लामो ‘लकडाउन’ घोषणा गरेपछि नेपाली फिल्मको छायांकन, प्रदर्शनदेखि सिनेमा हल समेत पूर्ण रुपमा बन्द भएका छन् । जसले गर्दा हजारौंको रोजीरोटी गुमेको छ । हलका कर्मचारी, फिल्ममा काम गर्ने प्राविधिकसँगै नेपाली फिल्मको विषयमा कलम चलाउने पत्रकारलाई समेत आर्थिक संकट पर्न थालेको छ ।
यो विपत्तको समयमा चलचित्र पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालले श्रमजीवि चलचित्र पत्रकारलाई राहत वितरण गर्ने भएको छ । संघको २० वर्ष लामो इतिहासमा पहिलो पटक शनिवार डिजिटल बैठक बसेर केन्द्रीय कार्यसमितिले श्रमजीवि पत्रकारहरुको दैनिक जीवनमा देखिएका समस्याहरुमा सहयोग पुग्ने गरि राहत प्याकेज वितरण गर्ने घोषणा गरेको हो ।
.jpg)
बैठकपछि संघका महासचिव समीर बलामीले जारी गरेको विज्ञप्तीमा भनिएको छ- ‘हाम्रो सदस्य तथा चलचित्र पत्रकारहरुका लागि दैनिक जीवनमा देखिएका समस्याहरुमा सहयोग पुग्ने गरि राहत प्याकेज वितरण गर्ने घोषणा संघले गरेको छ । कार्यसमितिका पदाधिकारीहरुको सहयोगमा श्रमजीवी चलचित्र पत्रकारका लागि राहत वितरण गर्न लागेको संघ जानकारी गराउँदछ ।’
कोरोनाका कारण जीविकोपार्जनमा समस्या भएका चलचित्र पत्रकारले संघमा सम्पर्क गर्न सक्ने विज्ञप्तीमा उल्लेख छ । साथै, संघले चलचित्र पत्रकारसँगै सम्पूर्ण नेपालीलाई घरमै विशेष सावधानी अपनाएर सुरक्षित रुपमा बस्न पनि अपिल गरेको छ । ‘लकडाउन’ का कारण चलचित्र पत्रकार संघले डिजिटल बैठक बसेर श्रमजीवि पत्रकारलाई राहत वितरण गर्ने निर्णय गरेको हो ।

