Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल भन्छन्, ‘पैसा बढी भएर सहयोग गर्न लागेको होइन’

फिल्मीखबर, काठमाडौं, 2020/04/04
चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले दुई हप्ता लामो (२५ गतेसम्म) ‘लकडाउन’ घोषणा गरेको छ । यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन बन्देज छ । यसबाट सम्पन्न परिवारलाई ठूलो समस्या नपरे पनि दैनिक ज्याला मजदुरी गर्नेहरुलाई बिहान बेलुकाको छाक टार्नै समस्या हुन थालेको छ । 
 
फिल्ममा भान्सा, लाइट, स्पट, केयरटेकरसहित विभिन्न प्राविधिकहरुको अवस्था पनि दयनिय बनेको छ । प्राविधिकहरुको हकहितका लागि गठित संस्था चलचित्र प्राविधिक संघको कार्यालयमा दैनिक आर्थिक तथा विपन्न प्राविधिकहरुले चामल किन्ने पैसा पनि नभएको भन्दै फोन गरिरहेका छन् । संघका अनुसार, तत्काल सय जना प्राविधिकलाई सहयोग गर्न आवश्यक देखिएको छ  ।
 
प्राविधिक संघले विपन्न प्राविधिकका परिवारलाई आर्थिक वा दैनिक आवश्यक खाद्य सामग्री किनेर सहयोग गर्न अपिल गरेपछि अहिले विभिन्न फिल्मकर्मीहरुले आर्थिक सहयोग गरिरहेका छन् । शुक्रवार दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले १ लाख १० हजार प्राविधिकलाई सहयोग गर्ने घोषणा गर्‍यो । त्यस्तै, अभिनेता पल शाहले पनि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
 
 
विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकलाई ५ लाख सहयोग गर्ने घोषणा गरेपछि फिल्मकर्मीदेखि दर्शकहरुले पलको तारिफ गरिरहेका छन् । यो विपत्तको समयमा कलाकारबाट सहयोग भएकोमध्ये यो ठूलो रकम हो । तर, उनी आफूसँग बढी पैसा भएकाले सहयोग गर्न नलागेको बताउँछन् । आफू पनि संघर्ष गरेर आएका कारण अरुको दुःख बुझ्ने उनको भनाई छ ।
 
फिल्म र म्यूजिक भिडियोमा प्रवेश गर्नुभन्दा अगाडि अभिनेता पल शाहले लामो समय तराई टिभीमा सम्पादकको रुपमा काम गरेका थिए । त्यसबेला सामना गर्नु परेका अभावका दिनहरु उनले विर्सिएका छैनन् । अहिले पनि काठमाडौंमा कोठा भाडामा लिएर बस्ने गरेका उनी संघर्षको समयमा आफूले दुःख र अभावसँग पैठेजोरी खेलेका कारण अरुको समस्या बुझ्ने बताउँछन् । 
 
‘पेट पाल्नका लागि मैले काठमाडौंमा गरेका दुःख विर्सिएको छैन । त्यसबेला मलाई एक हजारले पनि ठूलो महत्त्व राख्थ्यो । त्यसैले अरुको दुःखमा मेरो पनि मन दुख्छ,’ अभिनेता शाह अगाडि भन्छन्, ‘फिल्ममा ज्याला मजदुरी गर्ने कयैन् प्राविधिकहरुलाई कोठाभाडा तिर्न पनि समस्या छ । यो अवस्थामा सहयोग गर्नुपर्छ भन्ने लागेर आफ्नो तर्फबाट सकेको सहयोग गर्न लागेको हुँ ।’
 
उनी आफैंले भेटेर प्राविधिकलाई सहयोग गर्दैछन् । त्यसका लागि उनले प्राविधिक संघको सहयोग मागेका छन् । संघले सहयोग गर्न आवश्यक आर्थिक तथा विपन्न प्राविधिकहरुको नाम दिएपछि पल आफैं सहयोग बोकेर पुग्नेछन् । तर, उनी आफूले गरेको सहयोगले मात्र प्राविधिकहरुको समस्या समाधान नहुने बताउँछन् । अरु फिल्मकर्मीलाई पनि सहयोगल गर्न उनको अपिल छ ।
Most Visited News (monthly)