कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देश दुई साता लामो ‘लकडाउन’ मा छ । यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा अधिकांश जनता घरभित्रै बस्न बाध्य छन् । विभिन्न मुलुक हुँदै नेपालमा समेत भित्रिसकेको यो भाइरसका कारण हरेकको मनमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ भने देशको अर्थ–व्यवस्थालाई नै खल्बल्याएको छ ।
.jpg)
सरकारले थप ८ दिनका लागि ‘लकडाउन’ को अवधि लम्ब्याएपछि आम सर्वसाधारण मात्र होइन, काँचको पर्दामा देखिने कलाकारहरु पनि घरमै सीमित भएका छन् । वर्षभरी छायांकनमा व्यस्त हुने कलाकारहरु अहिले परिवारसँग समय विताइरहेका छन् । सामाजिक सञ्जालको माध्यमबाट आफ्ना शुभचिन्तकलाई सावधानी अपनाउन पनि उनीहरुले अपिल गरिरहेका छन् ।
गएको एक वर्षदेखि काँचको पर्दामा नदेखिएका अभिनेता सलिनमान बनियाँ पनि ‘लकडाउन’ का कारण घरभित्रै छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘यात्रा’ पछि कुनै नयाँ फिल्म साइन नगरेका उनले क्वारेन्टाइनको समयमा आफ्नो सौख पूरा गरिरहेका छन् । अभिनेता बन्ने कहिल्यै कल्पना समेत नगरेका उनलाई म्याजिक (जादू) देखाउन भने बाल्यकालदेखि नै निकै मनपर्थ्यो ।
फुर्सदको समयमा साथीहरुलाई तासको म्याजिक देखाउने गरेका उनले त्यसको भिडियो सामाजिक सञ्जालमा पनि शेयर गरिरहेका हुन्छन् । ‘लकडाउन’ को समयमा भने उनले घरमै तासको ‘म्याजिक ट्रिक्स’ को भिडियो बनाएर आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् । अभिनेता सलिनमानले क्वारेन्टाइनमा बसेर दिक्दार भएकालाई रमाइलोका लागि म्याजिक देखाएको बताएका छन् ।
उनले तासको जादू देखाउनुभन्दा अगाडि सम्पूर्ण नेपालीलाई घरमै विशेष सावधानी अपनाएर बस्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो एकदमै संवेदनशिल समय हो । मेरो अनुरोध छ सबैजना घरभित्रै बस्नुहोला ।’ सलिनको तासको ‘म्याजिक ट्रिक्स’ लाई दर्शकहरुले निकै मन पराएका छन् । यस प्रकारका भिडियो अरु पनि बनाउन दर्शकले उनलाई आग्रह गरेका छन् ।
अभिनेता सलिनमान बनियाँको ‘म्याजिक ट्रिक्स’ को भिडियो हेर्नुहोस् :-

