Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाम्रै गल्तीले कोरोना आएको हो : निखिल उप्रेती

फिल्मीखबर, काठमाडौं, 2020/04/01
चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि सरकारले दोस्रो पटक मंगलवारबाट लागू हुने गरि ८ दिनका लागि देशभर ‘लकडाउन’ गर्ने घोषणा गरेको छ । कोरोना संक्रमित अन्य देशहरु पनि हप्तैदेखि ‘लकडाउन’ मा छ । यो भाइरसबाट बच्न घरभित्रै सावधानी अपनाएर बस्नुभन्दा अरु विकल्प छैन । यही कारण नै सरकारले ‘लकडाउन’ गरेको हो ।
 
कोरोनाका कारण सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, अभिनेता निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै ठाउँमा बस्नु परे त्यो खोर हुने उनी बताउँछन् ।
 
 
फेसबुकमा एक भिडियो सन्देश साझेदार गर्दै अभिनेता निखिल उप्रेतीले भनेका छन्, ‘म घर भन्दा पनि खोर भन्ने शब्द प्रयोग गर्न चाहन्छु । एक किसिमको अहंकार र घमण्डले मात्र हामीले घर, महल, दरवार भन्न थालेका हौं । जब बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने जति नै सुःख सुविधाको घरहरु पनि खोर हुन्छ । अहिले हामीलाई खोरमा बस्न कोरोनाले बाध्य गराएको छ ।’
 
मानिसले गरेको गल्तीकै कारण कोरोना आएको उनी बताउँछन् । निखिल भन्छन्, ‘विज्ञानले प्रगतिको पराकाष्ट कुनैमा गरेको छ भने त्यो हात-हतियारमा हो । अहिले विश्वका कतिपय देशसँग क्षणभरमा विश्वलाई समाप्त पार्ने हतियार छन् । हामीले हिंसा र हत्याका लागि नै विज्ञानको प्रयोग गर्दै आएका छौं । र, त्यही विकासको क्रममा हामीले गरेको गल्तीले नै यो कोरोना आएको हो ।’
 
अति सुक्ष्म कोरोनाले हतियारधारी देशलाई समेत आफ्नै खोरभित्र बस्न बाध्य बनाएको अभिनेता निखिलको भनाई छ । कोरोना फैलिनुको कारण मानिसले गरेको गल्तीको परिणाम रहेको बताउँदै उनी अगाडि भन्छन्, ‘हामी खोरमा बस्दा समेत चैनसँग बस्न सकेका छैनौं । हामी आफैंले कोरोनालाई जन्म दिएका हौं । हामीले गल्ती नै गरिसकेका छौं भने अब सयंमताका साथ बसौंन ।’
 
‘हामीलाई थाहा छ कि कोरोनाले नराम्रोसँग गस्रित पार्छ । मृत्युसम्म पुर्‍याउन सक्छ र एकबाट अर्कोमा सजिलै सर्छ । घरबाट बाहिर निस्कँदा पुलिसले लाठी चार्ज गर्छ भन्ने पनि थाहा छ । तर, हामीभित्रको कुन शक्ति हो जसले हामीलाई घरभित्र चैनसँग बस्न दिँदैन । हामीलाई रोडमै निस्कन मन लाग्छ,’ उनी मानिसभित्र हुने शक्तिले विकास र विनास दुवैमा लिएर जानसक्ने बताउँछन् ।
 
कोरोनाले मृत्यु हुने, परिवारमा सर्ने र सडकमा निस्किए पुलिसको कुटाइ खाने डर हुँदा-हुँदै पनि यसको मतलब नगरि रोडमा निस्कन गर्ने साहस अरु क्षेत्रमा लगाए जीवनको अर्को पाटो सुरु हुने उनी सुनाउँछन् । अभिनेता निखिल उप्रेती साँझको ५ बजेपछि कोरोनालाई चुनौती दिँदै ‘लकडाउन’ उल्लंघन गरेर सडकमा निस्कने मानिसको भीड राजनीतिक प्रभावको रुपमा लिन्छन् ।
 
उनी थप्छन्, ‘हामीमा राजनीतिको गहिरो प्रभाव छ । यो देशमा राजनीतिक स्वार्थका लागि धेरैपटक नेपाल बन्द भयो । तर, यो लकडाउन कुनै राजनीतिक स्वार्थका लागि होइन । कोरोनालाई थाहा छैन कि ५ बजेपछि सर्नु हुँदैन भन्ने । हामीमा कतिसम्म राजनीतिक प्रभाव छ भने ५ बजेपछि सडकमा निस्किहाल्छौं ।’ यो अवस्थामा यी सबै कुराबाट टाढा रहन उनको सुझाव छ ।
 
अभिनेता निखिल अरुका लागि भए पनि घरभित्रै बस्ने संयमता अपनाउन अनुरोध गर्छन् । कोरोनाको संक्रमणबाट देशलाई जोगाउन सरकारले गरेको लकडाउन पूर्ण रुपमा पालन गरेर घरभित्रै बस्न उनको अपिल छ । उनी पनि गएको १० दिनदेखि घरभित्रै सीमित छन् । कोरोनाले सृजना गरेको स्थिति सामान्य भएपछि उनी फिल्म ‘आयो भैरव’ को छायांकन सुरु गर्दैछन् ।
 
निखिल उप्रेतीको भिडियो सन्देश :-

Most Visited News (monthly)