कोरोना भाइरसका कारण भारतमा २१ दिनको ‘लकडाउन’ गरिएको छ । जसका कारण मिडल क्लास र अपर मिडल क्लास परिवार घरबाटै आफ्नो प्रोफेसनल काम गर्ने कोशिश गरिरहेका छन् । तर, ज्याला मजदूरी गरेर परिवार पाल्ने मजदूरहरुलाई ‘लकडाउन’ ले ठूलो समस्या उत्पन्न भएको छ । उनीहरुलाई यो संकटको घडीमा थुप्रै बलिउड स्टारहरुले सहयोग गरिहेका छन् ।
केही दिनअघि अभिनेता अक्षय कुमारले कोरोनाको विरुद्ध लड्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा स्थापना गरिएको राहत कोषमा २५ करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका थिए । त्यस्तै, यो भाइरसविरुद्ध लड्न प्रधानमन्त्री राहत कोषमा कार्तिक आर्यनले पनि १ करोड दिने घोषणा गरेका छन् । अन्य बलिउड सेलिब्रेटीहरुले पनि सहयोग गरिरहेका छन् ।
यसबीच, यो मामलामा अभिनेता सलमान खानका पिता तथा चर्चित स्क्रिप्ट राइटर सलीम खानले एक बयान दिएका छन् । मिड डेसँग कुराकानी गर्ने क्रममा उनले भनेका छन्, ‘म सलमानको मद्दतमा टिप्पणी गर्न चाहन्नँ किनकि मलाई यसको बारेमा अहिले धेरै थाहा छैन । तर हाम्रो परिवारको एक सिद्धान्त छ- जहाँ हाम्रो पैसा जान्छ, त्यो देखिनुपर्छ र कसैलाई काम आउनुपर्छ ।’

उनले आफ्नो घरमा काम गर्ने व्यक्ति र सलमानको सेक्यूरेटी गार्डस्लाई सबै सुविधा उपलब्ध गराएको बताए । सलमानले आफ्ना भाई अरबाज खान र सोहेल खानसँग मिलेर सलमान खान फिल्मस् नामक प्रोडक्शन हाउस चलाउँछन् । मार्चमा ‘लकडाउन’ को कारण फिल्मको छायांकन पोस्टपोन्ड भएपछि स्टूडियोले सबै कर्मचारीलाई एक महिनाको तलब समेत दिइसकेको छ ।
त्यस्तै, सलमान खानले फिल्म इन्डस्ट्रीका २५ हजार मजदूरलाई मद्दत गर्ने फैसला लिएका छन् । उनले आफ्नो एनजीओ ‘बीइङ ह्यूमन’ बाट सहयोग गर्ने घोषणा गरेका हुन् । ‘एफडब्लूआइसिइ’ का प्रेसिडेन्ट बी एन तिवारीका अनुसार, सलमान खानले आफ्नो एनजीओ ‘बीइङ ह्यूमन’ को माध्यमबाट उनको अर्गनाइजेशनमा पुगेर मजदूरका लागि सहयोगको हात अगाडि बढाएका हुन् ।
त्यस्तै, ‘एफडब्लूआइसिइ’ का जनरल सेक्रेटरी अशोक पन्डितले भनेका छन्, ‘उहाँ (सलमान खान) ले हामीसँग मजदूरी गरेर परिवार पाल्ने २५ हजार व्यक्तिको एकाउन्ट डिटेल्स माग्नुभएको थियो । उहाँ यी सबै मजदूरहरुलाई आर्थिक रुपमा सहयोग गर्न चाहनुहुन्छ ।’ पन्डितका अनुसार, सलमान खानले मजदूरहरुको मेडिकल सुविधाका लागि हरेक महिना ५ लाख खर्च गर्दैछन् ।

