Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

के प्रेममा छन् नाजिर र नम्रता ?

फिल्मीखबर, काठमाडौं, 2020/03/26
नेपाली फिल्म क्षेत्रमा सेलिब्रेटीको प्रेम चर्चा हुनु नौलो कुरा होइन । पब्लिक फिगर भएका कारण उनीहरुले प्रेम सम्बन्ध जति नै गोप्य राख्न खोजे पनि ढिलोचाँडो छताछुल्ल हुन्छ । करिअरमा असर पर्ने डरले प्रायः सेलिब्रेटीहरु प्रेम सम्बन्ध लुकाउन खोज्छन् । कति भने प्रेम स्वीकार गरेर निर्धक्क भएर जिउँछन् । फिल्म क्षेत्रमा लुकाउने र खुल्लम खुल्ला प्रेम गर्ने दुवै खाले जोडी छन् ।
 
 
केही हप्तायता अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी प्रेममा रहेको चर्चा मिडियामा चलिरहेको छ । यद्यपि, यस विषयमा उनीहरुले मुख खोलेका छैनन् । उनीहरुको मौनताले नै बजारको चर्चालाई सत्य प्रमाणित गरिरहेको छ । यसबीच, अभिनेता नाजिर हुसेन र नेपाली फिल्मकी कान्छी नम्रता श्रेष्ठ प्रेममा रहेको चर्चा फिल्मवृतमा गाईंगुईं चल्न थालेको छ ।
 
यी दुईले फिल्ममा समेत रोमान्स गरिसकेका छन् । फिल्म ‘गाँठो’ मा उनीहरुले पहिलो पटक स्क्रिन साझेदारी गरेका थिए । यो फिल्मबाट नम्रताले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् भने नाजिरले लिड रोलमा ब्रेक पाएको पहिलो फिल्म थियो । यो फिल्म नेपालमा चलेको फिल्मी ट्रेन्डभन्दा फरक शैलीमा निर्माण गरिएको थियो । तर, फिल्म बक्सअफिसमा नराम्रोसँग पछारियो ।
 
‘गाँठो’ पछि नाजिर र नम्रताबीच पुनः सहकार्यको गाँठो कसिन सकेको छैन । उनीहरुले भिन्दा भिन्दै फिल्ममा काम गर्दै आइरहेका छन् । नाजिरको पछिल्लो रिलिज फिल्म ‘वीर विक्रम २’ हो भने नम्रता पछिल्लो पटक फिल्म ‘माछा माछा’ मा देखिएकी थिइन् । लामो समयदेखि एक हिट फिल्मको प्रतिक्षामा रहेका उनीहरु ‘गाँठो’ मा काम गरेपछि एकअर्कासँग नजिक भएका थिए ।
 
केही दिनअघि नाजिरले आफ्नो फेसबुकमा नम्रतासँग मुखमा मास्क र हातमा ग्लोब्स लगाएको तस्विरहरु शेयर गरेका थिए । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सचेतनास्वरुप उनीहरुले यस प्रकारको तस्विर खिचाएका थिए । तर, अभिनेत्री नम्रताले इन्स्टाग्राममा पोस्ट्याएको एक तस्विरलाई भने धेरैले प्रेम स्वीकारोक्तिको रुपमा अर्थ्याएका छन् ।
 
पाँच दिनअघि अभिनेत्री नम्रताले आफ्नो इन्स्टामा विना क्याप्सन अभिनेता नाजिरको काँधमा आफ्नो टाउको राखेको तस्विर राखेकी छन् । यो पोस्टमा पहिलो कमेन्ट नै नाजिरको छ । उनले ‘ओइ होइ स्टे सेभ नमु’ भनेर लेखेका छन् । नम्रताले इन्स्टामा पोस्ट गरेको तस्विरमा धेरैले ‘सुहाएको जोडी’ भन्दै प्रतिक्रिया जनाएका छन् । तर, उनले भने कुनै प्रतिक्रिया जनाएकी छैनन् ।
 
 
‘गाँठो’ रिलिजको चार वर्षसम्म सामाजिक सञ्जालमा कहिल्यै एकअर्कासँगको तस्विर साझेदार नगरेका उनीहरुले अचानक कोरोनाको महामारीको समयमा प्रेमिल तस्विर फेसबुक र इन्स्टामा साझेदार गरेपछि फिल्म बजारमा प्रेमको चर्चा चल्नु सामान्य नै हो । नम्रताले इन्स्टामा साझेदार गरेको विना क्याप्सनको तस्विरले त झन् उनीहरु प्रेम सम्बन्धमा छैनन् भन्न गाह्रै पर्छ । कि कसो ?
Most Visited News (monthly)