
राम चरण र जूनियर एनटीआर अभिनीत प्रतिक्षीत फिल्म ‘आरआरआर’ को मोसन पोस्टर सार्वजनिक भएको छ । २०२१ जनवरी ८ तारिखमा प्रदर्शन हुन लागेको फिल्मका निर्माताले बुधवार मोसन पोस्टर र टाइटल लोगो सार्वजनिक गरेका हुन् । मोसन पोस्टर भिन्न प्रकारले तयार गरिएको छ । पोस्टरमा राम चरण र जूनियर एनटीआरलाई आगो र पानीको रुपमा चित्रण गरिएको छ ।
यो फिल्म स्वतन्त्रता संग्राम सेनानीहरुको जीवनमा आधारित छ र सत्य घटनाबाट प्रेरित यो एसएस राजामौलीको पहिलो फिल्म पनि हो । डीवीवी दानय्याद्वारा निर्मित तथा राजामौलीद्वारा निर्देशित ‘आरआरआर’ को दुनियाँभरमा एकसाथ दश भारतीय भाषामा रिलिज गरिँदैछ । यो फिल्मबाट बलिउड सुपरस्टार अजय देवगन र अभिनेत्री आलिया भट्टले साउथ फिल्ममा डेब्यू गर्दैछन् ।
फिल्ममा हलिउड अभिनेता रे स्टीवेन्सन, एलिसन डूडी र ओलिविया मोरिस पनि देखिँदैछन् । यो फिल्ममा अभिनेता अजय देवगनले पारिश्रमिक बुझेका छैनन् । फिल्मका निर्माताहरु उनलाई रामचरण र एनटीआर जुनियरको जति नै पारिश्रमिक दिन तयार थिए । तर, निर्देशक राजमौलीका कारण अजयले पारिश्रमिक नलिएका हुन् । फिल्ममा उनी केमियो भूमिकामा छन् ।
राजमौली र अजय साथी-साथी हुन् । राजमौलीको फिल्म ‘मख्खी’ रिलिज भएपछि उनीहरुको भेट भएको थियो । पछिल्लो समय राजमौलीले फिल्म ‘बाहुबली’ को निर्देशन गरेका थिए । उक्त फिल्म भारतीय बक्स अफिसमा सुपरहिट भएको थियो । साउथका दुई सुपरस्टार राम चरण र जूनियर एनटीआर एकसाथ पर्दामा देखिन लागेका कारण ‘आरआरआर’ दर्शकमाझ प्रतिक्षीत छ ।
मोसन पोस्टर हेर्नुहोस् :-

