 -01 (1)(2)(1).jpg)
चीनबाट फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला विश्व नै हल्लाएको छ । यो भाइरसबाट विश्वका १६५ देशमा मानिसहरुको मृत्यु भैरहेको छ भने विश्वभरीका मानिसहरुले कोरोनाबाट बाँच्नका लागि विभिन्न उपायहरु अपनाइरहेका छन् । नेपालमा पनि तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सरकारले मंगलबारबाट देशभर ‘लकडाउन’ गरेको छ ।
‘लकडाउन’ मा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन पाइँदैन । कोरोनाको संक्रमण फैलिन नदिन एक हप्ताका लागि सरकारले ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयलाई नेपाली सेलिब्रेटीहरुले पनि समर्थन जनाएका छन् । यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर ननिस्कन थुप्रै सेलिब्रेटीहरुले सामाजिक सञ्जालबाट आग्रह गरिरहेका छन् ।
अहिलेका हटकेक अभिनेता प्रदीप खड्काले पनि सरकारले गरेको ‘लकडाउन’ को निर्णयलाई स्वागत गर्दै सम्पूर्ण नेपालीलाई घरमै बसेर उच्च सर्तकता अपनाउन अपिल गरेका छन् । एक भिडियो सन्देशमार्फत् उनले भाइरस लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु उत्तम हुने बताएका छन् । सरकारले गरेको ‘लकडाउन’ लाई साथ दिन पनि सम्पूर्ण नेपालीलाई उनको अनुरोध छ ।
घरमै रहन अपिल गर्दै उनले भनेका छन्, ‘यदी कसैलाई कोरोनाको लक्षण देखिएको छ भने सर्तक रहनुस् । आइसुलेसनमा बस्नुस् । अहिलेको अवस्थामा आफूले आफूलाई जोगाऊँ । भीडभाडबाट आफूलाई टाढा राख्नुहोस् ।’ कोरोनाविरुद्ध सबै एकजुट भएर लाग्न पनि उनले आह्वान गरेका छन् । ‘लकडाउन’ भएपछि अभिनेता प्रदीप खड्का अहिले परिवारसँग समय विताइरहेका छन् ।

