.jpg)
कोरोना भाइरसले विश्वभर सन्त्रास मच्चाइरहेका अवस्थामा त्यसबाट नेपाल पनि अछुतो छैन । खुल्ला नाका भएको छिमेकी मुलुक भारतमा यो रोगका संक्रमितको संख्या दिनानुदिन बढ्दै जान थालेपछि अहिले नेपालमा विशेष सावधानी अपनाइएको छ । सरकारले अत्यावश्यक कामबाहेकका सबै सेवा बन्द गरिसकेको छ भने घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ ।
कोरोनाका कारण नेपाली फिल्म बजार समेत प्रभावित भएको छ । सरकारले आउँदो बैशाख १८ गतेसम्मलाई सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि बैशाख दोस्रो हप्तासम्म प्रदर्शनका लागि तयारी अवस्थामा रहेका सबै फिल्मको रिलिज पोस्टपोन्ड भएको छ भने २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन गरेको निर्णयपछि छायांकनरत फिल्मको सुटिङ पनि प्रभावित भएको छ ।
केही दिनअघि कोरोनाका कारण फिल्म ‘ए मेरो हजुर ४’ टिमले छायांकन स्थगित गरेको थियो । यसबीच, दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को छायांकन पनि अनिश्चितकालका लागि रोकिएको छ । सोमबारबाट फिल्मको छायांकन स्थगित भएको निर्देशक लामाले फेसबुकमार्फत् जानकारी दिएका छन् । स्थिति सामान्य भएपछि फिल्म पुनः फ्लोरमा जाने उनले बताए ।
अभिनेता पल शाह र अभिनेत्री वर्षा राउत भान्सामा भलाकुसारी गरिरहेको क्यामेरामा कैद एक दृश्य सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै निर्देशक लामाले लेखेका छन्, ‘अशान्त मन र मस्तिष्क लिएर काम गर्न गाह्रो हुने भएकाले ‘२ नम्बरी’ फिल्मको छायांकन हाललाई रोकेका छौं । स्थिति सामान्य हुने वित्तिकै छायांकन यथावत गर्नेछौं ।’ फिल्मको कथा उनी स्वयंको हो ।
रेड वर्ड र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), पल शाह, वर्षा राउत, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहनेछ । अर्को वर्षको जनै पूर्णिमामा रिलिज हुने फिल्मको निर्मातामा रोहित कट्टेल र सरोज नेपाली रहेका छन् भने प्रस्तुतकर्ता किरण नेपाली हुन् । रत्न श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन् ।

