Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बल्ल पाइन् आनाले फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2020/03/21
अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गरेपछि अभिनेत्रीको करिअरले गति लिने विश्वास छ । केही अभिनेत्रीको हकमा यो देखिएको पनि छ । साम्राज्ञी आरएल शाह, उपासना सिंह ठकुरी र सुहाना थापा यसका उदाहरण हुन् । उनीहरुको डेब्यू नै अनमोल अभिनीत फिल्मबाट भएको थियो । अनमोलसँग स्क्रिन साझेदारी गरेर गुमनाम भएका अभिनेत्री पनि केही छन् । 
 
अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गरेर पनि नेपाली फिल्ममा आफ्नो बलियो उपस्थिति जनाउन नसकेकी अभिनेत्रीमा गनिन्छिन्, आना शर्मा । उनले ‘जेरी’ बाट अभिनेत्रीको रुपमा सुखद डेब्यू गरेकी थिइन् । यो अनमोलको भने दोस्रो फिल्म थियो । हेमराज विसी निर्देशित फिल्म बक्सअफिसमा सुपरहिट भएको थियो । आनाको अभिनय दर्शक र समीक्षक दुवैले रुचाए ।
 
तर, ‘जेरी’ पछि उनले लामो समय अध्ययनका कारण फिल्म गरिनन् । जब उनी दोस्रो फिल्म गर्न राजी भइन्, त्यसबेलासम्म दर्शकले उनलाई विर्सिन थालिसकेका थिए । उनले साइन गरेको दोस्रो फिल्म निर्देशक विसीकै ‘ग्यांगस्टार ब्लूज’ थियो । प्रदर्शन अगाडि फिल्मको बज राम्रो थियो । तर, फिल्मले बक्सअफिसमा भने सुखद व्यापार गर्न सकेन । अर्थात्, फिल्म फ्लप भयो ।
 
 
यो फिल्म रिलिजको झण्डै एक वर्ष उनी कामविहीन भइन् । ‘जेरी’ पछि उनलाई लिएर फिल्म बनाउने सोच बनाएका मेकर पनि तर्किए । बल्लतल्ल उनको हातमा एक वर्षपछि ‘द म्यान फ्रम काठमाण्डू’ नामक फिल्म पर्‍यो । यसमा उनी लिड रोलमा थिइन् । नेपाली र विदेशी कलाकारको अभिनय भएकाले फिल्मलाई पहिलो नेपाली हलिउड फिल्मको रुपमा प्रचार गरिएको थियो । 
 
तर, यो फिल्मले पनि हलमा घुँडा टेक्यो । लगातार दुई फिल्म असफल भएपछि अभिनेत्री शर्माको फिल्मी करिअर संकटमा परेको छ । गिनेचुनेका ब्यानरको उनीमाथि आँखा पर्न सकेको छैन । आउँदो बैशाखमा ‘द म्यान फ्रम काठमाण्डू’ प्रदर्शनमा आएको वर्ष दिन पूरा हुँदैछ । यो फिल्मपछि लामो समय कामविहीन भएकी उनको हातमा एक वर्षपछि बल्लतल्ल नयाँ फिल्म परेको छ ।
 
अभिनेत्री आना शर्मा एक वर्षपछि एक्सन कटमा व्यस्त हुन लागेको फिल्म हो, ‘लिम्बो’ । अर्पण थापाले निर्देशन गर्ने यो फिल्ममा उनी अनुबन्ध भैसकेकी छन् । अर्पणले छायांकनरत फिल्म ‘तीन जन्तु’ को छायांकन भ्याएपछि ‘लिम्बो’ सुरु गर्नेछन् । मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण हुन लागेको यो फिल्मले आनाको धर्मराएको फिल्मी करिअरलाई उकास्न मद्दत गर्ला त ? आशा गरौं ।
Most Visited News (monthly)