
यही चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षीत फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसबाट बच्न सरकारले बिहीवारबाट सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेपछि फिल्मको प्रदर्शन रोकिएको हो । निर्माण कम्पनी अर्जुन कुमार फिल्मस्ले फिल्म निर्धारित मितिमा प्रदर्शन नहुने विज्ञप्तीमार्फत् जानकारी दिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि सरकारले अप्रिल ३० सम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेका कारण आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै फिल्मको प्रदर्शन स्थगित गरिएको निर्माता अर्जुन कुमारले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । अर्को सूचना नआउन्जेलसम्मका लागि फिल्मको प्रदर्शन स्थगित गरिएको विज्ञप्तीमा भनिएको छ ।
रिलिज पोस्टपोन्ड हुँदा फिल्मको पखाई लम्बिन गएकोमा निर्माण कम्पनीले दर्शकसँग माफी पनि मागेको छ । सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि बैशाख १८ गतेसम्म सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेपछि चैत र बैशाख दोस्रो हप्तासम्मका सबै फिल्म सरेका छन् । जसले निर्मातामाथि आर्थिक भार थपिएको छ भने फिल्म क्षेत्रलाई ठूलो क्षती पुगेको छ ।
.jpg)
निकेश खड्का निर्देशित ‘चपली हाइट ३’ सुपुष्पा भट्ट, स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको फिल्ममा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । भने, अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।

