Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोरोना प्रभाव : रोकियो ‘ए मेरो हजुर ४’ को सुटिङ

फिल्मीखबर, काठमाण्डौ, 2020/03/20
अर्को वर्षको दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै फ्लोरमा निस्किएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावका कारण केही दिनका लागि फिल्मको छायांकन रोकिएको अभिनेत्री तथा निर्देशक झरना थापाले फेसबुकमा स्टाटस लेखेर जानकारी दिएकी छन् । 
 
 
‘मानव जातीलाई नै चुनौती बनिरहेको कोरोना संक्रमणबाट बच्न, सतर्कता अपनाउन हामी सबै एकजुट हुनैपर्छ । यसबाट कलाकार, प्राविधिकहरुमा पर्न गएको असुविधाप्रति हामी सजग छौं । आफ्नो स्वस्थ र जीवनभन्दा ठूलो केही हुन सक्दैन । हामी छिट्टै फेरि पहिले जस्तै सहज जीवनशैलीमा हुनेछौं,’ उनले लेखेकी छन् । झरना थापाको ‘ए मेरो हजुर ४’ तेस्रो निर्देशन हो ।
 
पोखरामा छायांकन सकेर हालै निर्माण टिम राजधानी फर्किएको थियो । ४० प्रतिशत छायांकन पूरा भैसकेको फिल्मको बिहीवारसम्म पाटनमा छायांकन भैरहेको थियो । बुधवार सरकारले सिनेमा हल बन्द गर्न र २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपछि ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको हो । किनकि, फिल्मको सुटिङमा ४० जनाभन्दा बढी व्यक्ति खटिएका थिए ।
 
फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, सरोज खनाललगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा अभिनेता अनमोलले पालेको कुकुर कोकोको पनि अभिनय रहेको छ । सञ्जय लामाले फिल्म खिच्ने जिम्मेवारी पाएका छन् । नेपाल छायांकन पूरा भएपछि यूरोप र ओमानमा फिल्मको गीत खिचिँदैछ । फिल्मको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ । 
 
सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि आउँदो बैशाख १८ गतेसम्म देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेसँगै नेपाली फिल्म क्षेत्रमा यसको ठूलो प्रभाव परेको छ । बैशाख दोस्रो हप्तासम्म प्रदर्शनको तयारीमा रहेका सम्पूर्ण फिल्मको प्रदर्शन अस्तव्यस्त भएको छ । डेढ महिना हल बन्द हुने भएपछि नेपाली फिल्म क्षेत्रलाई ५० करोडको क्षती हुने अनुमान गरिएको छ ।
Most Visited News (monthly)