
चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिए पनि विश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखिममा नेपाललाई राखेपछि अहिले आम जनमानस त्रास उत्पन्न भएको छ । सरकारले भीडभाडमा नजान, अत्यावश्यक कामभन्दा बाहेक अरु समयमा घर बाहिर ननिस्कन, अनिवार्य रुपमा हात धुन र मास्क लगाएर हिँड्न आह्वान गरिरहेको छ ।
बुधवार सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि सिनेमा हल बन्द गर्ने निर्णय पनि गरिसकेको छ । चैत ६ गते (बिहीवार) बाट लागू हुने गरी आउँदो बैशाख १८ गतेसम्म सिनेमा हल बन्द गर्ने सरकारले निर्णय लिएको हो । सरकारको निर्णयलाई हल सञ्चालकहरुले स्वागत गरेका छन् । दर्शकको स्वास्थ्यलाई ख्यालमा राख्दै बिहीवारबाट देशभरका सिनेमा हल बन्द भएका छन् ।
कोरोनाको त्रासले गएको दुई हप्तादेखि हलमा दर्शकको उपस्थिति सुखद थिएन । दर्शक नहुँदा हल स्वंत बन्द हुने अवस्थामा पुगिसकेका थिए । सरकारले डेढ महिनासम्म हल बन्द गर्ने निर्णय गरेसँगै बिहीवारबाट सिंगल र मल्टीप्लेक्स सबै हल पूर्ण रुपमा बन्द भएका छन् । देशभरका सिनेमा हलहरुले विज्ञप्ती जारी गर्दै बैशाख १८ गतेसम्म हल बन्द हुने जानकारी गराएका छन् ।

क्यूएफएक्स सिनेमाजले आफ्नो वेभसाइटमा दर्शकको सुरक्षा पहिलो प्राथमिकता भएको भन्दै आउँदो बैशाख १८ गतेसम्मलाई हल बन्द भएको जानकारी दिएको छ । अन्य सिनेमा हलहरुले पनि विज्ञप्तीमार्फत् सरकारको निर्णयअनुसार हल बन्द गरिएको उल्लेख गरेका छन् । हलहरु बन्द भएपछि चैत र बैशाख दोस्रो हप्तासम्म प्रदर्शनको तयारीमा रहेका सबै फिल्मको रिलिज सरेको छ ।

