कोरोना भाइरस विश्वभर महामारीका रुपमा फैलिरहेका बेला नेपालमा पनि यसको त्रास देखिएको छ । जसको प्रत्यक्ष असर नेपालका हरेक क्षेत्रमा परेको छ । यसबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो रहन सकेको छैन । कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले दर्शकको ठूलो भीड हुने सिनेमा हलमा नजान आग्रह गरेपछि केही दिनयता हलमा दर्शकको चर्को अभाव छ ।
अहिले कर्मचारीलाई मासिक तलब दिन पनि हल सञ्चालकलाई मुश्किल भएको छ । सरकारले सिनेमा हल बन्द गर्न निर्देशन नदिए पनि दर्शक अभावमा सिंगल र मल्टीप्लेक्स हलहरु बन्द हुने अवस्थामा पुगेका छन् । कोरोनाको डरले दर्शक हलमा आउन छाडेपछि प्रदर्शनरत फिल्मका निर्मातालाई ठूलो मार परेको छ भने प्रदर्शनको तयारीमा रहेका फिल्महरु पछाडि सरिरहेका छन् ।
‘म यस्तो गीत गाउँछु २’, ‘नीरफूल’ र ‘लक्का–जवान’ फिल्मले कोरोनाका कारण प्रदर्शन स्थगित गरिसकेका छन् । भने, चैत र बैशाखलाई प्रदर्शन मिति घोषणा गरिएका अरु फिल्म पनि सर्ने अवस्थामा छ । नयाँ वर्ष २०७७ को छेको (चैत २८) मा प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को रिलिज अहिलेसम्म पोन्टपोन्ड भए पनि फिल्म घोषित मितिमै प्रदर्शन हुनेमा अन्योल देखिएको छ ।
(1).jpg)
फिल्म प्रदर्शनमा आउन अब एक महिना पनि बाँकी नरहँदा निर्माण टिमले अहिलेसम्म प्रचार प्रसारलाई अगाडि बढाउन सकेको छैन । दुई गीत र टिजर सार्वजनिक गरेपछि फिल्मको टिम मौन छ । निर्माता सन्तोष सेन यतिबेला पर्ख र हेरको अवस्थामा छन् । उनी अझै हप्ता दश दिन माहोल हेर्ने बताउँछन् । ‘अहिलेसम्म फिल्मको रिलिज सरेको छैन । तर, सर्न सक्छ,’ उनले भने ।
निर्माता सेनका अनुसार, अहिले फिल्मको एक गीत र ट्रेलरलाई मूर्तरुप दिने काम भैरहेको छ । ‘केही दिनमा हामी गीत वा ट्रेलरमध्ये एउटा सामाग्री सार्वजनिक गर्छौं । चैत २८ बाट सर्यौं भने नयाँ मितिसहित आउँछौं । नसरेको खण्डमा प्रचार प्रसारलाई तिव्र बनाउनेछौं,’ निर्माता सेनले फोनवार्तामा भने । फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् ।
फिल्म ‘प्रेमगीत ३’ मा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । यो फिल्मबाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । फिल्मले डेढ सय वर्ष अगाडिको प्रेमकथा वाचन गर्छ ।

