Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कोरोना प्रभाव : ‘लक्का–जवान’ रिलिज स्थगित

फिल्मीखबर, काठमाण्डौ, 2020/03/18
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको डब्लूएचओले बताएपछि अहिले हरेकको मनमा त्रास उत्पन्न भएको छ । कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले भीडभाड हुने कार्यक्रम नगर्न र दर्शकको चाप रहने हलमा नजान पटक-पटक आग्रह गरिरहेको छ । जसकारण अहिले हलमा दर्शकको उपस्थिति टिठलाग्दो छ ।
 
हलमा दर्शक पातलिन थालेपछि अहिले एकपछि अर्को नेपाली फिल्मले प्रदर्शन स्थगित गरिरहेका छन् । दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै फागुन ३० लाई रिलिज क्यालेन्डर राजिएको ‘म यस्तो गीत गाउँछु २’ र चैत ७ मा प्रदर्शन हुने तरखरमा रहेको ‘नीरफूल’ ले प्रदर्शन मिति स्थगित गरे । यस्तैमा कोरोना भाइरसको त्रासका कारण फिल्म ‘लक्का–जवान’ पनि पछाडि धकेलिएको छ ।
 
 
यही चैत २१ मा आउने तयारीमा रहेको यो फिल्मको प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको निर्माता किरण केसीले जानकारी दिए । ‘कोरोनाका कारण अहिले डरै डर छ । सरकारले समेत सिनेमा हलमा नजान आग्रह गरेको अवस्थामा अब सर्नुको विकल्प भएन ।’ शिवहरी पौडेलको डेब्यू निर्देशित फिल्ममा १ करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् ।
 
उनले अर्को वर्षको भदौमा फिल्म प्रदर्शन गर्ने तयारी भैरहेको बताए । ‘लक्का–जवान’ को दुई गीत गीत यूट्युबमा सार्वजनिक भैसकेका छन् । गीतले फिल्मको हाइप औसत चुल्याएको अवस्थामा कोरोना भाइरसका कारण रिलिज सार्नु पर्दा निर्मातामाथि दोहोरो खर्चको भार थपिने पक्का छ । योभन्दा ठूलो चिन्ता निर्माण टिमलाई नयाँ प्रदर्शन मितिमा फिल्म चल्छ वा चल्दैन भन्ने छ ।
 
दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहेको फिल्मले पाका उमेरका मानिसहरुको कथा भन्छ । ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको ‘लक्का जवान’ को कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल छन् ।
Most Visited News (monthly)