Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परदेशी २’ मा दीलिपको इन्ट्री, सपुत लेख्छन्, ‘विश्वास नै लागेको छैन’

फिल्मीखबर, काठमाण्डौ, 2020/03/16
 
कोरोना भाइरसको त्रासका बीच पनि छायांकन भैरहेको फिल्म ‘परदेशी २’ मा नृत्य र अभिनयमा निपूर्ण मानिने अभिनेता दीलिप रायमाझीको प्रवेश भएको छ । फिल्ममा उनी भित्रिएको जानकारी गायकबाट अभिनेता बन्न लागेका प्रकाश सपुतले फेसबुकमार्फत गराएका हुन् । उनले दीलिप रायमाझीलाई आफ्नो आइडल हिरो भन्दै सँगै काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । 
 
दीलिपसँग खिचेका तस्विरहरु फेसबुकमा सेयर गर्दै सपुतले लेखेका छन्, ‘बोल माया’ र ‘गलबन्दी’ गीतको यो सिन र डाइलगमा मेरो आफ्नै फिलिङस मिसाएको थिएँ । म वास्तवमै नायक दीलिप रायमाझीको ठूलो फ्यान र उहाँ जस्तै हिरो बन्ने सपना पनि देखेको एक गाउँले ठिटो । आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय (आइडल) हिरोसँग स्क्रिन सेयर पनि गर्दैछु ।’ 
 
उनले दीलिप रायमाझीसँग पहिलो पटक स्क्रिन साझेदार गर्न पाउँदा आफूलाई विश्वास नै नलागेको पनि लेखेका छन् । उनी लेख्छन्, ‘आज शुटिङ भइरहदा पनि घरी-घरी यस्तो लागिराछ कि यो सबै रियल मै त भैराछ नी ? कि म गहिरो निन्द्रामा छु र मिठो सपना देखिराछु ? हँ ?’ अभिनेता दीलिप रायमाझीले पनि ‘परदेशी’ सिरिजमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।
 

गएको दुई हप्तायता पोखरामा छायांकन भैरहेको फिल्म ‘परदेशी २’ मा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, वर्षा सिवाकोटी, केकी अधिकारी, नीर शाह, देवेन्द्र बब्लुलगायतको अभिनय रहनेछ । रमेश वि.जीको कथा तथा पटकथा रहेको फिल्मलाई नारायण रायमाझीले निर्देशन गरिरहेका छन् । विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्षमा फिल्म आधारित हुनेछ ।
Most Visited News (monthly)