Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(25 votes, avg 4.16/5.00)
Text size:-
+
-

आँचलको बिहे पार्टी छल्न पल र पूजाको मुक्तिनाथ यात्रा !

फिल्मीखबर, काठमाडौं, 2020/03/15
अभिनेत्री आँचल शर्मा र पोषण विद् उदिप श्रेष्ठले फागुन २९ गते लगनगाँठो कसे । फेसबुकबाट अंकुराएको डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरुले शनिवार राजधानीमा रहेको पाँचतारे होटल हायतमा रिसेप्सन पार्टीको आयोजना गरेका थिए । रेखा थापादेखि पुष्प खड्कासम्म आँचल र उदिपलाई बैबाहिक जीवनको शुभकामना दिन गिफ्ट बोकेर पुगेका थिए ।
 
आँचल र उदिप रिसेप्सन पार्टीमा सहभागी हुन सिम्रिक एयरको हेलिकप्टर चढेर पुगेका थिए । बिहीवार विवाह गरेपछि उनीहरु उदिपको जन्मथलो चितवन पुगेका थिए । बिहे पार्टीका लागि सडक मार्गबाट आउन ढिला हुने भएपछि उनीहरुले हेलिकप्टर चार्टर गरेको बताइएको छ । आफ्नो रिसेप्सन पार्टीमा आँचलले गुलाबी रंगको आकर्षक र निकै भारी लेहेङ्गा लगाएकी थिइन् ।
 
 
आँचल र उदिपको रिसेप्सन पार्टीमा मिडियाले सबैभन्दा धेरै खोजेको अनुहार थियो, अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा ।दर्शकले निकै रुचाएको जोडी हो- पल र आँचल । यी दुईले तीन फिल्म ‘नाईं नभन्नू ल ४’, ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ सँगै दर्जनौं म्यूजिक भिडियोमा काम गरेका छन् । लामो समयसम्म उनीहरु एकअर्काको प्रेममा रहेको चर्चा पनि चलेको थियो । 
 
तर, छ महिना पहिला पल र आँचलको ब्रेकअप भएको खबर बाहिरिएको थियो । गत वर्षसम्म आँचललाई इन्स्टाग्राममा पछ्याउने पलले अहिले अनफलो गर्नुले पनि उनीहरुको सम्बन्धमा दरार आएको बुझ्न सकिन्छ । अभिनेत्री पूजा शर्मासँग पनि एक समय आँचलको राम्रो सम्बन्ध थियो । तर, गत वर्ष उनले पूजालाई लक्षित गर्दै एक स्टाटस लेखेपछि मित्रता दुश्मनीमा बदलियो ।
 
अभिनेत्री आँचलले आफ्नो रिसेप्सन पार्टीमा पल र पूजा दुवैलाई निमन्त्रणा कार्ड पठाएकी थिइन् । तर, उनीहरु भने पुगेनन् । ‘म यस्तो गीत गाउँछु’ को दुई सिरिजमा रोमान्स गरिसकेका उनीहरु आँचलको बिहे भोजमा उपस्थित हुँदैनन् भन्ने धेरैलाई थाहा थियो । किनकि, यो जोडीले शुक्रवार नै मुक्तिनाथ दर्शन गर्न राजधानी छाडिसकेको थियो । उनीहरु आइतवार काठमाडौं फर्किँदैछन् । 
 
गोप्य स्रोतका अनुसार, पल र पूजाले आँचलको बिहे पार्टीको निम्तो आएपछि अकास्मात मुक्तिनाथ दर्शनमा निस्कने योजना बनाएका थिए । उनीहरुलाई निर्देशक सुदर्शन थापाले पनि साथ दिएका छन् । काठमाडौंमा भएर बिहे पार्टीमा नगएको भए मिडियामा आँचलसँग सम्बन्ध विग्रिएको भन्दै बग्रेल्ती गसिप छापिन्थे । काठमाडौंमै नभएपछि बहाना बनाउन पनि सजिलो । यसैलाई भनिन्छ, ‘खुरापाती दिमाग’ ।
Most Visited News (monthly)