
होमी अदजानिया निर्देशित फिल्म ‘अंग्रेजी मिडियम’ शुक्रवारबाट प्रदर्शनमा आइसकेको छ । अभिनेता इरफान खानको अभिनय रहेका कारण फिल्मको जबरजस्त बज बनेको थियो/छ । तर, फिल्मको बक्सअफिस आँकडाले अरु नै कहानी बयान गरिरहेको छ । फिल्मले पहिलो दिन कमजोर सुरुवात गरेको छ । फिल्मले शुक्रवार ३ करोड ५० लाख मात्र कमाउन सफल भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण फिल्मले कमजोर ओपनिङ गरेको हो । कोरोनाको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै दिल्लीसहित भारतका कयैन् राज्यका सिनेमा हल सरकारले बन्द गरिसकेको छ । यसकारण पनि फिल्मले अपेक्षाकृत व्यापार गर्न नसकेको हो । फिल्मले पहिलो दिन ठूलो व्यापार गर्न नसके पनि ‘वर्ड अफ माउथ’ बलियो छ ।
सन् २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘हिन्दी मिडियम’ २३ करोडमा निर्माण भएको थियो भने पहिलो दिन २ करोड ८१ लाख कमाएको थियो । यो हिसाबले ‘हिन्दी मिडियम’ को तुलनामा ‘अंग्रेजी मिडियम’ ले राम्रो सुरुवात गरेको मान्न सकिन्छ । कोरोनाको त्रासको बावजूद पनि प्रदर्शनमा आएको फिल्मले शनिवार र आइतवार कमाईमा उछाल कायम गर्ने अनुमान गरिएको छ ।
फिल्ममा इरफानका अलावा राधिका मदान, करीना कपूर, दीपक डोबरियाल, डिम्पल कपाडियाको पनि अभिनय छ । छोरीलाई लण्डनमा पढाउन एक पिताले गर्ने संघर्षमा फिल्म आधारित छ । ‘अंग्रेजी मिडियम’ बाट अभिनेता इरफान खानले २ वर्षपछि अभिनयमा कमब्याक गरेका हुन् । उनी गएको दुई वर्षदेखि लण्डनमा न्यूरो एन्डोक्राइन ट्यूमरको उपचार गरिरहेका थिए ।

