
गाडी उडाउन खप्पिस मानिने रोहित शेट्टी निर्देशित बहुप्रतिक्षीत बलिउड फिल्म ‘सूर्यवंशी’ को रिलिज पोस्टपोन्ड भएको छ । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण फिल्मको प्रदर्शन स्थगित गर्ने निर्माण टिमले निर्णय लिएको हो । ‘सूर्यवंशी’ मार्च २४ मा प्रदर्शनमा आउने तयारीमा थियो । फिल्मको एक्सनले भरिएको ट्रेलर सार्वजनिक भैसकेको छ ।
बुधवार ‘सूर्यवंशी’ को टिमले सोसल मिडियाको माध्यमबाट फिल्मको रिलिज पोस्टपोन्ड भएको जानकारी गराएको हो । यति ठूलो निर्णयले रोहित निराश भए पनि उनी यसका लागि तयार थिए । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामी फिल्मको रिलिज पोस्टपोन्ड गर्ने सोचिरहेका थियौं तर सही दिन र सही समयको प्रतिक्षा गर्दै थियो । फिल्म स्थगित गर्नु सबैको लागि उत्तम हो ।’
फिल्मको रिलिज पोस्टपोन्ड हुँदा निराश हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले अगाडि भने- ‘हामी दुःखी छैनौं । फिल्म त आउनेछ नै । पहिला मान्छेको सुरक्षा आउँछ । सरकारले सिनेमा घरहरु बन्द गर्न आदेश दिएको अवस्थामा फिल्म स्थगित गर्नु नै राम्रो निर्णय हो ।’ कोरोनाको कारण देशमा समस्याहरू बढिरहेको र यस्तो अवस्थामा सिनेमा हल बन्द गर्नु राम्रो निर्णय रहेको उनी बताउँछन् ।
‘सूर्यवंशी’ रोहित शेट्टीको कप सिरिजको चौथो फिल्म हो । यसमा अक्षय कुमार र कटरीना कैफ प्रमुख भूमिकामा छन् । यो फिल्ममा ‘सिंघम’ उर्फ अजय देवगन र ‘सिम्बा’ उर्फ रणवीर सिंह पनि देखिँदैछन् । एक्सन प्रधान फिल्मको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको छ । अब यो हेर्न बाँकी छ कि फिल्मको रिलिज पोस्टपोन्ड गर्नु निर्देशक रोहितका लागि भारी पर्छ वा पर्दैन ?

