Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘माइकल अधिकारी’ मा सौगात र सृष्टिको यस्तो गेटअप

फिल्मीखबर, काठमाडौं, 2020/03/11
सबै कुरा सोचेजस्तै भए अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अर्को वर्ष बैबाहिक जीवनमा बाँधिनेछन् । उनीहरुलाई परिवारबाट समेत विवाहका लागि अनुमति मिलिसकेको छ । २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु पछिल्लो समय खुल्लम खुल्ला प्रेममा रमाइरहेका छन् । सामाजिक सञ्जालमार्फत् सृष्टिले बाक्लै रुपमा सौगातप्रति प्रेम भाव व्यक्त गरिरहेकी हुन्छिन् । 
 
प्रेम सम्बन्धमा रहेपछि यो जोडीको फिल्ममा समेत सहकार्य टुटेको छैन । उनीहरुले पहिलो पटक फिल्म ‘मासु भात’ मा काम गरेका थिए । यो फिल्म प्रदर्शनमा आएको छैन । उनीहरुको दोस्रो सहकार्य गएको कात्तिकमा प्रदर्शन भएको फिल्म ‘पोइ पर्‍यो काले’ मा भएको थियो । यसपछि फिल्म ‘माछा माछा’ को गीत ‘म्याडम म्याडम’ मा पनि सौगात र सृष्टिले ठुम्का लगाएका थिए ।
 
उनीहरु चाँडै फिल्म ‘सँगसँगै’ मा काम गर्दैछन् । गएको महिना मात्र सौगात र सृष्टिले फिल्म ‘माइकल अधिकारी’ को छायांकन भ्याएका हुन् । रियल लाइफमा श्रीमान्-श्रीमती हुने तयारीमा रहेका उनीहरु यो फिल्ममा श्रीमान्-श्रीमतीकै भूमिकामा छन् । पहिलो पटक यस प्रकारको भूमिकामा देखिन लागेका कारण उनीहरु मात्र नभइ दर्शक पनि फिल्मलाई लिएर उत्साहित छन् ।
 
 
भाडाको कोखसम्बन्धी विषयमा फिल्म निर्माण भएको हो । कुनै दम्पतीको सन्तान भएको छैन, सन्तान नहुनुमा महिला गर्भधारण गर्न अक्षम वा नचाहेको अवस्थामा पुरुषले अर्की महिलाको कोख भाडामा लिएर सन्तान जन्माउने प्रक्रियालाई भाडाको कोख भनिन्छ । यस अवस्थामा जन्मेको सन्तान पुरुषको हुन्छ र भाडामा कोख दिने महिलाले त्यसबापत पैसा मात्र पाउँछिन् ।
 
फिल्म ‘माइकल अधिकारी’ ले यही विषय उठान गरेको छ । फिल्ममा सौगात र सृष्टि आर्थिक अवस्था कमजोर भएको जोडीको रुपमा देखिँदैछन् । फिल्ममा सृष्टिले पैसाका लागि आफ्नो कोख भाडामा लगाउने  महिलाको भूमिका निर्वाहा गरेकी छन् । यो फिल्म अहिले सम्पादन टेवुलमा छ । चैत २८ गते प्रदर्शनमा आउने भनिएको फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् ।
 
फिल्मको छायांकन सुरु हुँदै गर्दा निर्माण टिमले सौगात र सृष्टिको लुक्स सार्वजनिक गरेको थियो । जसमा सृष्टिको सिउँदोमा सिन्दूर, गलामा पोते र हातमा चुरा देखिएको थियो भने सौगातले टाउकोमा विग लगाएका थिए । अब, फिल्मको सुटिङ सेटमा खिचिएको सौगात र सृष्टिको नयाँ तस्विर फिल्मीखबरलाई प्राप्त भएको छ । जहाँ उनीहरु भिन्न गेटअपमा देखिएका छन् ।
 
प्राप्त तस्विरमा अभिनेत्री सृष्टि श्रेष्ठ रातो रंगको साडी चोलीमा देखिएकी छन् भने उनको काखमा दुधे बच्चा छ । उनको छेवैमा सौगात मल्ल उभिएका छन् । तस्विरमा देखिएको उनीहरुको भिन्न गेटअपले दर्शकमा फिल्मप्रति उत्सुकता र कौतुहलता बढाउने देखिन्छ । पहिलो पटक यो रियल जोडीलाई पर्दामा श्रीमान्-श्रीमतीको भूमिकामा हेर्न दर्शकलाई निकै रोचक हुनेवाला छ । 
Most Visited News (monthly)