(1).jpg)
चीनबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वका सयभन्दा बढी देश प्रभावित भएका छन् । नेपाल समेत यो रोगको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठनले जानकारी गराइसकेको छ । जसले गर्दा हरेक नेपालीको मनमा त्रास उत्पन्न भएको छ । सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि मानिसको भीडभाड हुने कार्यक्रममा रोक लगाइसकेको छ ।
सिनेमा हल पनि दर्शकको भीडभाड हुने ठाउँ हो । तर, नेपाल सरकारले अहिलेसम्म हल बन्द गर्न निर्देशन नदिए पनि कोरोनाको त्रासले हलहरु विस्तारै सुनसान देखिन थालेका छन् । हलमा दर्शक आउन छाडेपछि अहिले प्रदर्शनको तयारीमा रहेका फिल्म भटाभट सरिरहेका छन् । केही दिनअघि फागुन ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ सर्यो ।
कोरोना भाइरसका कारण अर्को नेपाली फिल्म ‘नीरफूल’ को पनि प्रदर्शन स्थगित भएको छ । प्रदर्शन मिति सर्दासर्दा आउँदो चैत ७ गतेबाट प्रदर्शनमा आउने तरखरमा रहेको यो फिल्म अब स्थिति सामान्य भएपछि मात्र प्रदर्शनमा आउने निर्देशक फूलमान वलले जानकारी दिए । दर्शकको स्वास्थ्यलाई ख्याल गरि फिल्मको प्रदर्शन मिति सार्ने निर्णय निर्माण टिमले गरेको हो ।

‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरि सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला हामीले पनि फिल्मको सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’, निर्माण कम्पनी सेलो प्रोडक्सनले जारी गरेको विज्ञप्तीमा भनिएको छ । दर्शकको पर्खाइ र अपेक्षामा पर्न गएको असुविधाप्रति निर्माण टिमले माफी पनि मागेको छ ।
महाभुकम्पमा विछोडिएको एउटा परिवारको प्रेमकथा समेटिएको फिल्मको कार्यकारी निर्माता सोनाम डोमा रहेकी छन् भने निर्माताको रुपमा विभिन्न मुलुकका गैरआवसीय नेपालीहरुले सघाएका छन् । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले अभिनय गरेका छन् ।

