फिल्म ‘धुपौरे’ का निर्माता र अभिनेता अनमोल केसीबीच उत्पन्न विवाद यतिबेला उत्कर्षमा पुगेको छ । निर्माता द्वय जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले दुई हप्ताअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा अनमोलविरुद्ध ठगीको उजुरी दिएका थिए । ‘धुपौरे’ मा अभिनय गर्न ५ लाख रुपैयाँ एडभान्स लिए पनि फिल्मका लागि अनमोलले समय नदिएको भन्दै उनीहरुले उजुरी दिएका हुन् ।

फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै थप २ लाख ५० हजारसमेत लिएको पनि निर्माता द्वय श्रेष्ठ र खड्गीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । फिल्मका निर्माताले पैसा ठगीको अरोप लगाउँदै प्रहरीमा उजुरी दिएको दुई हप्तापछि अभिनेता अनमोल केसीले आइतबार आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस लेख्दै स्पष्टिकरण दिएका छन् ।
वानलाइन स्टोरीभन्दा स्क्रिप्ट भिन्न रहेको र स्क्रिप्टमा थप मेहेनत गर्न आफूले आग्रह गरे पनि निर्माता/निर्देशकले छायांकनमा जान कर गरेका कारण आफूले फिल्म गर्न नमानेको उनले स्टाटसमा लेखेका छन् । उनले निर्मातालाई ५ लाख रुपैयाँ जुनसुकै बेला फिर्ता गर्न तयार रहेको पनि बताएका छन् । पैसा ठगीको आरोप लगाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको उनको भनाई छ ।
फिल्मको विषयमा उत्पन्न विवादलाई लिएर गरिएको निर्माता र अभिनेताको सार्वजनिक अभिव्यक्तिप्रति चलचित्र निर्माता संघले ध्यानाकर्षण भएको जनाएको छ । यो विवाद मिलाउन महानगरीय प्रहरी परिसर काठमाडौंले चलचित्र निर्माता संघलाई पत्रचार गरेका कारण अहिले निर्माता संघ फिल्मका निर्माता र अभिनेताबीच उत्पन्न विवाद मिलाउन दुवै पक्षसँग छलफल गरिरहेको छ ।
अनमोलले फेसबुकमा स्टाटस लेखेपछि निर्माता संघले छलफल र वार्ताबाटै समस्याको समाधान हुने अवस्थामा फिल्मका व्यक्तिहरुलाई आरोप-प्रत्यारोपमा नउत्रन आग्रह गरेको छ । फिल्म निर्माता र नायकबीच उत्पन्न विवादको बारेमा निर्माता संघको न्यायिक समितिमा विभिन्न चरणमा छलफल जारी रहेको निर्माता संघका महासचिव रोज राणा द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
‘धुपौरे’ फिल्मका अनुबन्धित नायक अनमोल केसी र निर्माण पक्षबीच उत्पन्न विवादका बारेमा नेपाल चलचित्र निर्माता संघको न्यायिक समितिमा विभिन्न चरणमा छलफल जारी रहेको र दुई पटक दुवै पक्षको उपस्थितिमा बैठक बसिसकेको अवस्थामा यसरी यस विषयलाई लिएर गरिएको सार्वजनिक अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानआकृष्ट भएको छ,’ निर्माता संघको विज्ञप्तीमा भनिएको छ ।
फिल्मका आधिकारिक व्यक्तिहरुबाटै आरोप-प्रत्यारोपमा उत्रता संघले गर्ने न्यायिक निर्णयमा प्रत्यक्ष असर पर्ने सम्भाव्यताको आँकलन दुवै पक्षबाट महशुस हुनुपर्ने र नेपाल चलचित्र निर्माता संघको न्यायिक समितिबाट विधि र विधानको परिधिभित्र रहेर दुवै पक्षको अनुकूलमा न्यायिक निर्णय गरिने निर्माता संघका महासचिव रोज राणाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
फिल्मको छायांकनका लागि अभिनेता अनमोल केसी पोखरामा र निर्देशक साम्तेन भुटिया काम विशेषले राजधानी बाहिर भएका कारण उनीहरु राजधानी फर्किएपछि दुवै पक्षलाई राखेर छलफल गरिने संघका महासचिव राणाले जानकारी दिए । छलफलबाटै समस्याको समाधान हुने भएका कारण आरोप-प्रत्यारोपमा उत्रता संघले गर्ने न्यायिक निर्णयमा असर पर्ने उनी बताउँछन् ।

