गठिलो ज्यानका धनी सुशील श्रेष्ठलाई ‘अनलक्की नायक’ भन्ने गरिन्छ । फिल्म ‘होस्टेल रिर्टन्स’ बाट अभिनेताको रुपमा सुखद डेब्यू गरेका उनी त्यसपछि भने सफलताबाट बञ्चितझैँ छन् । चिटिक्क मिलेको जिउडाल र आकर्षक हाइटका कारण धेरै यूवतीको ‘क्रस’ समेत बनेका उनी आफू अभिनीत फिल्म एकपछि अर्को दर्शकले रिजेक्ट गरेपछि फिल्मी करिअरलाई लिएर चिन्तित छन् ।
‘होस्टेल रिर्टन्स’ पछि उनले अर्को हिट फिल्म ‘सायद’ को सिक्वेलमा काम गरेका थिए । तर, यो फिल्म बक्सअफिसमा नमज्जासँग पछारियो । यसपछि उनले ‘कारखाना’ नामक फिल्ममा अभिनय गरे । यसमा उनको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटी थिइन् । फिल्ममा समावेश ‘तिमीले बोलेको’ गीत हिट भए पनि फिल्मले हलमा घुँडा टेक्यो । न त सुशीलकै अभिनय नै रुचाइयो ।

फिल्ममा कथाको माग नभए पनि आफ्नो शरीर देखाउन सर्टलेस हुन कहिल्यै आनाकानी नगर्ने उनको यस वर्ष दुई फिल्म प्रदर्शनमा आए, ‘बादशाह जुट’ र ‘लभ डायरीज’ । निर्माणको २ वर्षपछि थुप्रै पटक प्रदर्शन मिति सरेर बल्लतल्ल हलमा लागेका यी दुई फिल्मले पनि अभिनेता सुशीलको करिअरको डुब्दो नाउ बचाउन सकेनन् । बरु, अझ करिअरलाई संकटमा पारेको छ ।
अभिनेता सुशीललाई ‘बादशाह जुट’ भन्दा ‘लभ डायरीज’ बाट ठूलो आश थियो । फिल्मको प्रचारका लागि उनले पर्याप्त समय दिएका थिए । निर्माण टिमले पनि फिल्मको प्रचार गतिलै गरेको थियो । तर, यो फिल्मबाट पनि सुशीललाई ‘हातमा लाग्यो शुन्य’ झैँ भयो । निर्माण टिमले दैनिक फेसबुक लाइभमा आएर फिल्म रुचाइदिएकोमा धन्यवाद दिए पनि हलमा दर्शकको खडेरी थियो ।
बुझिएअनुसार, अभिनेता सुशील अब अभिनयमा फर्किने सम्भावना न्यून छ । ‘लभ डायरीज’ रिलिजताका उनले यो फिल्मको नतिजा हेरेर नयाँ फिल्म गर्ने वा नगर्ने भन्ने निर्णय लिने केही मिडियामा बताएका थिए । ठूलो आश गरिएको फिल्मलाई नै दर्शकले रिजेक्ट गरेपछि उनी अब फिल्म अभिनयबाट टाढा हुने सोचमा छन् । कतै सुशील विदेश पलायन हुने तयारीमा त छैनन् ?

