नेपाली फिल्मका आशलाग्दा अनुहार प्रदीप खड्का सोमवारबाट २९औं वर्षमा प्रवेश गरेका छन् । वि.सं. २०४७ फागुन २६ गते ललितपुरको कुसुन्तीमा पिता टेक बहादुर खड्का र माता शारदा खड्काको परिवारमा जन्म लिएका उनले सिक्किम मणिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट एमबिए सकाएका छन् । उनले मार्केटिङमा मास्टर्स गरेका हुन् ।
बाल्यकालदेखि नै अभिनयमा रुचि भएका उनले फिल्म ‘स्केप’ बाट अभिनेताबाट रुपमा डेब्यू गरेका थिए । यसमा उनी आफैंले लगानी गरेका थिए । तर, यो फिल्म हलमा लागेको र उत्रिएकै थाहा भएन । यसपछि उनले आफ्नै लगानीमा ‘ठूलो मान्छे’ नामक फिल्म बनाए । यो फिल्म पनि चलिदिएन । यसपछि अभिनेता प्रदीपलाई परिवारबाट अष्ट्रेलिया जान दबाब सृजना भएको थियो ।
उनी पनि दुई फिल्म असफल भएपछि निराश भएका थिए । तर, मनमा अभिनयको हुटहुटी भने मरिसकेको थिएन । परिवारको दबाबका कारण उनी अष्ट्रेलिया जान तयार भए र भिषा एप्लाइ गरे । त्यही बेला नेपालमा ठूलो भूकम्प गयो र भिषा आउन ढिलाइ भयो । भूकम्पले कयैन् घरबार विहीन भए । कतिको ज्यान गयो । प्रदीपलाई भने त्यही भूकम्प जीवनको सुनौलो प्रहर बन्न पुग्यो ।
भूकम्पले अष्ट्रेलियाको भिषा आउन ढिलाइ भएपछि उनी घरमै बसेर दैनिकी विताइरहेका थिए । त्यही बेला सुदर्शन थापा ‘गडफादर’ बनेर आए । उनले अभिनेता प्रदीपलाई ‘प्रेमगीत’ अफर गरे । तर, प्रदीपले तत्कालै फिल्म गर्छु भन्न सकेनन् । किनकि, परिवारबाट उनलाई विदेश जान चर्को दबाब थियो । यद्यपि, उनले परिवारसँग एउटा मौका माग्दै फिल्म गर्न राजी भए ।
 (2)(2)(2).jpg)
‘प्रेमगीत’ बक्सअफिसमा सफल भए नेपाली फिल्ममै सक्रिय हुने अन्यथा अष्ट्रेलिया उड्ने उनको सोच थियो । फिल्म २०७२ साल माघ २९ गते प्रदर्शनमा आयो । बक्सअफिसमा अर्को ठूलो फिल्म ‘क्लासिक’ सँग भिड्नु पर्दा फिल्मले घरेलु बजारबाट लगानी उठाउन सकेन । तर, दर्शकले फिल्मलाई अत्याधिक रुचाए । प्रदीपको अभिनयको पनि दर्शक तथा समीक्षकले प्रशंसा गरे ।
‘प्रेमगीत’ पछि उनलाई नेपाली फिल्मको सम्भावना बोकेको अभिनेताको रुपमा हेरियो । यसपछि निर्माताबीच उनलाई लिएर फिल्म बनाउन सुरु भएको हानाथाप आजसम्म पनि कायमै छ । डुबिसकेको फिल्म करिअरका लागि सञ्जिवनी बुटी सावित भएको ‘प्रेमगीत’ पछि अभिनेता प्रदीपले आफ्नो करिअर पछाडि फर्केर हेर्नु परेको छैन । अहिले नेपाली फिल्ममा उनको बोलवाला छ ।
एक फिल्मका लागि ३५ लाखको आसपास पारिश्रमिक बुझ्ने गरेका उनलाई अभिनेता अनमोल केसीको प्रतिस्पर्धी समेत भन्ने गरिन्छ । यी दुईबीच पारिश्रमिकलाई लिएर बेला बखतमा प्रतिस्पर्धा हुने गरेको छ । चकलेटी लुक्सका धनी प्रदीपले ‘फान अवार्ड २०७३’ मा ‘स्टार अफ द ईयर’ र ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ मा पपुलर नायकको अवार्ड समेत चुमिसकेका छन् ।
‘प्रेमगीत २’ पछि प्रदीपका फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन भने सकेका छैनन् । ‘लिलिबिली’, ‘रोज’ र ‘लभ स्टेशन’ लगातार असफल हुँदा धेरैले उनको स्टारडममाथि प्रश्न उठाएका छन् । अब, उनी यस वर्षको चैत २८ गतेबाट आफूलाई स्टार बनाएको फिल्म ‘प्रेमगीत’ को तेस्रो सिरिज लिएर आउँदैछन् । यसले करिअरलाई एउटा उचाइ दिनेमा उनी आशावादी छन् ।
‘डिप्लोम्याटिक’ जवाफ दिन सिपालु प्रदीप आफ्नो बोलीका कारण पनि आलोचित बन्ने गरेका छन् । ‘लभ स्टेशन’ प्रदर्शनताका समीक्षक र आफूले काम गरेका निर्देशकप्रति दिएको अभिव्यक्तिले उनी आलोचनाको शिकार बनेका थिए । प्रदीप प्रेम सम्बन्धका कारण पनि चर्चामा छाइरहने अभिनेता हुन् । अभिनेत्री जसिता गुरुङसँग उनी प्रेममा रहेको चर्चा लामै समय चलेको थियो ।
तर, उनीहरुले कहिल्यै प्रेम सम्बन्ध स्वीकार गरेनन् । अहिले यो जोडीको ब्रेकअप भएको चर्चा छ । ‘लिलिबिली’ मा प्रदीप र जसिताको जोडीलाई दर्शकले निकै रुचाएका थिए । ‘लभ स्टेशन’ मा उनीहरुको दोस्रो पटक सहकार्य भएको थियो । ‘प्रेमगीत ३’ पछि प्रदीप, हेमराज विसीको फिल्ममा काम गर्दैछन् । यसमा उनको जोडी अभिनेत्री साम्राज्ञी आरएल शाहसँग बाँधिएको छ ।
हँसिलो स्वभावका अभिनेता प्रदीप खड्कालाई जन्मदिनको धेरै-धेरै शुभकामना ।

