(1)(1).jpg)
अभिनेता अनमोल केसीले आफूमाथि फिल्म ‘धुपौरे’ का निर्माताले लगाएको ठगीको आरोपको बारेमा स्पष्टिकरण दिएका छन् । अहिले फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनका लागि पोखरामा रहेका उनले आइतवार फेसबुकमा लामो स्टाटस कोर्दै आफूमाथि लागेको ठगीको आरोपले स्तब्ध भएको बताएका छन् । उनले आफूले लिएको पैसा फिर्ता गर्न तयार रहेको पनि लेखेका छन् ।
‘फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ एमाउन्ट पाँच लाख दिनुभएको थियो । यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रिप्टलाई प्राथमिकता दिने गरेको छु । ‘धुपौरे’ साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रिप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो,’ अनमोलले लेखेका छन् ।
स्क्रिप्टमा थप मेहेनत गर्न आग्रह गरे पनि निर्माता तथा निर्देशकले छायांकनमा जान कर गरेका कारण आफूले नमानेको उनको भनाई छ । उनी अगाडि लेख्छन्, ‘उहाँहरुले त्यही स्क्रिप्टमा सुटिङमा जान मलाई कर गर्नुभयो जुन मैले मानिन् । यही कुरामा मत बाँझियो र यही स्क्रिप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईंहरुको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरुले लिन मान्नु भएन ।’
फाइनल स्क्रिप्ट नै नपढि फिल्म साइन गरेको भन्ने विषयमा उठ्न सक्ने सम्भावित प्रश्नको पनि उनले उत्तर दिएका छन् । उनी लेख्छन्, ‘नेपाली फिल्म इन्डष्ट्री सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् । मैले फिल्मको स्क्रिप्ट थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो र म सुटिङको शिलशिलामा बाहिर भएको मौका छोपेर मेरो चरित्रहत्या गर्न खोज्नु भयो ।’
गएको दुई हप्ता अगाडि ‘धुपौरे’ फिल्मका निर्माता द्वय जयन श्रेष्ठ र रुपेश खड्गीले महानगरीय प्रहरी परिसर काठमाडौंमा अनमोलविरुद्ध ठगीको अरोपमा प्रहरीमा उजुरी दिएका थिए । फिल्ममा अभिनय गर्न ५ लाख रुपैयाँ एडभान्स लिए पनि फिल्मका लागि समय नदिएको भन्दै उनीहरुले उजुरी दिएका थिए । फिल्मलाई साम्तेन भुटियाले निर्देशन गर्ने फाइनल भएको थियो ।

