Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘रण’ बाट नरेनको भोजपुरीमा डेब्यू

फिल्मीखबर, काठमाण्डौ, 2020/03/08
नेपालको तराई क्षेत्रमा भोजपुरी फिल्मको ठूलो प्रभाव छ । विरगञ्ज, लहान, मलंगवा, राजविराज, जनकपुरलगायतका नेपाल-भारत सिमावर्ती क्षेत्रमा नेपाली फिल्म विरलै प्रदर्शन हुन्छन् । नेपालीभन्दा भोजपुरी भाषा सहज रुपमा बुझ्ने भएका कारण त्यहाँका दर्शकमा नेपाली फिल्मलाई लिएर कुनै चासो एवं उत्सुकता रहँदैन । तर, भोजपुरी फिल्म हेर्न भने हलमा ठूलो भीड लाग्छ । 
 
अभिनेता विराज भट्टका कारण नेपालका तराई क्षेत्रमा भोजपुरी फिल्मको प्रभाव झन् बढेको बताइन्छ । उनका अधिकांश भोजपुरी फिल्मले नेपालमा राम्रो कमाई गरेका थिए/छन् । भोजपुरी फिल्मले नेपालमा बलियो बजार बनाएका कारण अहिले नेपाली कलाकारको भोजपुरी फिल्मतर्फ आकर्षण बढ्न थालेको छ । यसको तात्तातो उदाहरण हुन्, नेपाली अभिनेता नरेन खड्का । 
 
फिल्म ‘रण’ बाट उनले भोजपुरी फिल्ममा पाइला राखेका छन् । यो फिल्मका निर्देशक पनि नेपाली नै हुन् । थुप्रै नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरेका चन्द्र पन्तले फिल्मको निर्देशन गरेका हुन् । यसअघि उनले भोजपुरी सुपरस्टार दिनेशलाल यादव निरहुवालाई लिएर ‘निरहुवा चलल लण्डन’ नामक फिल्म बनाएका थिए । यो फिल्म हिट भएपछि उनले ‘रण’ फिल्मको निर्देशन गरेका हुन् ।
 
 
एक्सन जनरामा निर्मित यो फिल्मको फर्स्‍टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख अभिनेता आनन्द ओझासँगै नरेन खड्का फिचर्ड छन् । पोस्टरमा नरेनको टाउकोको आधा भाग मात्र देखाइएको छ । उनी फिल्ममा नकारात्मक भूमिका छन् । ‘भूमिका नकारात्मक भए पनि पावरफूल छ । भोजपुरी फिल्ममा डेब्यू गर्न पाउँदा खुसी छु,’ उनले भने । 
 
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘हमेशा’ बाट अभिनेताको रुपमा डेब्यू गरेका नरेनले ‘मन्दिरा’, ‘परदेशी’ लगायतका फिल्ममा अभिनय गरेका छन् । पहिलो भोजपुरी फिल्मलाई लिएर उनी निकै उत्साहित छन् । उनी अब राम्रो कथाबाट अफर आए भोजपुरी फिल्म पनि गर्ने सोचमा छन् । फिल्म ‘रण’ को भारतको लखनऊसँगै नेपालको लुम्बिनी र काठमाडौंमा छायांकन भएको थियो । 
 
प्रदर्शन मिति घोषणा नगरिएको फिल्ममा आनन्द र नरेनसँगै काजल राघवानी, मनोज टाइगर, देव सिंह, सी पी भट्ट, अयाज खानलगायतका कलाकारको अभिनय छ । फिल्मको कथा, पटकथा तथा द्वन्दव निर्देशन पन्त स्वयंको हो । फिल्मलाई नेपाली छायाँकार महेश पौडेलले खिचेका हुन् । गीतमा नेपाली कोरियोग्राफर रामजी लामिछाने र गम्भीर बिष्‍टको कोरियोग्राफी छ ।
Most Visited News (monthly)