मिस नेपालको उपाधि जितेपछि अभिनेत्रीको प्रस्ताव बाक्लै पुग्ने गर्छ । मलिना जोशीलाई पनि सन् २०११ मा मिस नेपाल भएपछि फिल्मको अफर लिएर थुप्रै निर्माता पुगेका थिए । फिल्म ‘ऋतु’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले त्यसयता आधा दर्जन बढी फिल्ममा अभिनय गरिन्, कुनैमा मुख्य अभिनेत्री त कुनैमा सहायक । तर, उनले सबै फिल्मबाट निराशा मात्र भोग्नुपर्यो ।
‘ऋतु’ पछि अभिनेत्री मलिना जोशीले ‘लिला’, ‘तिमी हुन्छौ जहाँ जहाँ’, ‘झुम्की’, ‘संरक्षण’, ‘द विनर’, ‘रानी’ लगायतका फिल्ममा काम गरिन् । तर, सबै फिल्मले बक्सअफिसमा घुँडा टेके । न त उनको अभिनयकै प्रशंसा भयो । हरेक फिल्ममा आफ्नो चरित्रलाई आत्मसात् गर्न नसकेको आरोप खेप्दै आएकी उनी गएको एक वर्षदेखि फिल्मविहीन रहेको फिल्मवृतमा चर्चा चलिरहेको छ ।
.jpg)
उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ हो । यो फिल्म प्रदर्शनमा आएको वर्ष दिनभन्दा बढी भैसकेको छ । यो फिल्मपछि उनले नयाँ फिल्म साइन गरेको जानकारीमा छैन । फिल्ममा राम्रो माग हुँदा संख्यात्मक अभिनयमा जोड दिएका कारण अहिले उनी फिल्मविहीन हुनु परेको कतिपयको विश्लेषण छ । आजभोली उनी घुमघाममा समय विताउने गरेकी छन् ।
एकपछि अर्को फिल्म बक्सअफिसमा असफल हुँदा अहिले मलिनालाई फिल्ममा लिएर जोखिम उठाउने पक्षमा निर्माता देखिएका छैनन् । फिल्मको असफलताले अझै दर्शकको ठूलो वर्गमा आफूलाई अभिनेत्रीको रुपमा चिनाउन नसकेकी उनलाई आजका दिनसम्म पनि आफूलाई मिस नेपालकै रुपमा चिनाउनु पर्ने बाध्यता छ । योभन्दा ठूलो पीडा मलिनाका लागि अरु के होला र !
मलिना फिल्मभन्दा प्रेम सम्बन्धका कारण बढी चर्चामा रहने गरेकी छन् । अहिले उनी भ्लगर सुशान्त प्रधानको प्रेममा छिन् । उनी प्रेमीसँग अर्को वर्ष विवाह गर्दैछिन् । सुशान्तभन्दा अगाडि मलिना अभिनेता अनुपविक्रम शाहीको प्रेममा थिइन् । तर, उनीहरुको सम्बन्ध धेरै समय टिकेन । प्रेम र फिल्ममा असफलता भोगेकी उनको सुशान्तसँगको प्रेम चाहिँ सफल रहोस्, शुभकामना ।

