.jpg)
आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४३ सेकेण्ड लामो टिजर सस्पेन्स-थ्रिलर शैलीमा तयार पारिएको छ । टिजर हेर्दा फिल्मको मूलकथा अभिनेत्री स्वस्तिमा खड्काको वरिपरि घुमेको अनुमान गर्न सकिन्छ । अभिनेता अर्पण थापाको भिन्न लुक्स ध्यान खिच्ने खालको छ ।
अर्जुन कुमार निर्मित यो फिल्ममा स्वस्तिमा र अर्पणसँगै सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको फिल्ममा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । अष्ट महर्जनले फिल्मको एक्सन सिनको कोरियोग्राफी गरेका हुन् ।
अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म बनाउँदैछन् । यी फिल्मका नाम टिजरमा पनि राखिएको छ ।
सन् २०१२ को सुपरहिट फिल्म ‘चपली हाइट’ को तेस्रो सिरिज भएकाले यो फिल्मप्रति अपेक्षा उच्च छ । यो फिल्मको अघिल्ला दुवै श्रृंखलाको निर्देशन दीपेन्द्र के. खनालले गरेका थिए । पहिलो पार्टबाट विनिता बराल र दोस्रो श्रृंखलाबाट परमिता आरएल राणाले अभिनेत्रीको रुपमा डेब्यू गरेका थिए । ‘चपली हाइट’, यौन मनोविज्ञानमा आधारित भएर बनेको नेपालको पहिलो फिल्म हो ।
टिजर हेर्नुहोस् :-

