दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ ले शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन थालेका छन् । यी दुई फिल्ममध्ये सुरुवाती दुई दिन ‘सेन्टी भाइरस’ ले आक्रामक व्यापार गरेको थियो । तर, पहिलो हप्ताको आइतवारबाट समीक्षकको नकारात्मक समीक्षाका कारण फिल्मको व्यापारमा ठूलो गिरावट आएको छ । फिल्मले प्रदर्शनको ९ दिनमा ४ करोडमाथि कमाएको रिपोर्ट प्राप्त छ ।
यो फिल्मका कारण दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ ले प्रदर्शनको पहिलो हप्ता उत्साहजनक व्यापार गर्न सकेन । तर, ‘वर्ड अफ माउथ’ बलियो भएका कारण दोस्रो हप्ताबाट फिल्मले हलमा दर्शकको संख्या बढाएको थियो । केही दिनयता कोराना भाइरसको त्रासले फिल्मको व्यापारमा पुनः असर परेको छ । तर, शनिवारका लागि मल्टीप्लेक्समा फिल्मको बुकिङ राम्रो छ ।
.jpg)
प्रदर्शनभन्दा दुई दिन अगाडि मल्टीप्लेक्सले खुल्ला गरेको अग्रिम बुकिङमा ‘सेन्टी भाइरस’ ले उच्च सोज पाएको थियो । फिल्मलाई क्यूएफएक्सको देशभरका चेनमा ५० सोज मिलेको थियो भने ‘आमा’ ले देशभरका हलमा २३ सोज पाएको थियो । तर, तेस्रो हप्तामा ‘सेन्टी भाइरस’ लाई सोज संख्यामा ‘आमा’ ले उछिनेको छ । यसलाई फिल्मको माउथ पब्लिसिटीको तागत मानिएको छ ।
क्यूएफएक्सको देशभरका चेनमा ‘आमा’ ले तेस्रो हप्तामा १६ सोज पाउँदा ‘सेन्टी भाइरस’ ११ सोजमा खुम्चिएको छ । पहिलो हप्ताभन्दा ‘आमा’ को ७ सोज घटे पनि ‘सेन्टी भाइरस’ जस्तो ठूलो गिरावट आएको छैन । यसबाट बुझ्न सकिन्छ कि ‘आमा’ ले दोस्रो हप्ता सुखद प्रदर्शन गरेको थियो । तर, अब कोरोना भाइरसको त्रासले फिल्मको व्यापारमा ठूलो असर पर्नसक्ने देखिन्छ ।
शुक्रवारबाट बलिउडको यस वर्षको प्रतिक्षीत फिल्म ‘बाघी ३’ प्रदर्शनमा आएको छ । यो फिल्मको नेपाली दर्शकले समेत प्रतिक्षा गरिरहेका थिए । यसकारण पनि योसँग भिड्न कुनै नेपाली फिल्मले आँट गरेनन् । टाइगर श्राफको फिल्मलाई मल्टीप्लेक्सले दिएको सोज हेर्दा ‘बाघी ३’ ले नेपालमा आक्रामक व्यापार गर्ने देखिन्छ । फिल्मलाई क्युएफएक्स चेनले ५४ सोज दिएको छ ।

