गएको पुसबाट चीनमा आतंक फैलाइरहेको कोरोना भाइरसले अहिले विश्व नै त्रसित छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म सयौंको ज्यान गइसकेको छ भने हजारौँ मानिस संक्रमित छन् । अहिले कोरोना भाइरसको बारेमा सुन्दा नै मनमा डर पलाउन थालेको छ । कोरोनाको त्रासले हरेक क्षेत्रलाई प्रभाव पारिरहेको अवस्थामा विश्व फिल्म बजार पनि अछुतो रहन सकेको छैन ।
कोरोनाको त्रासले चीन, जापान, साउथ कोरिया, इटलीलगायतका देशका हजारौं सिनेमा हल बन्द भैसकेका छन् । जसका कारण हलिउडका ठूला फिल्महरुले प्रदर्शन मिति पोस्टपोन्ड गरिरहेका छन् । कोरोनाको प्रभाव विस्तारै नेपाली फिल्म बजारमा समेत देखिन थालेको छ । डब्ल्यूएचओले नेपाल कोरोनाको उच्च ज्योखिममा रहेको बताएपछि हलमा दर्शक पातलिन थालेका छन् ।
कोरोनाको त्रासका कारण चलचित्र निर्माता संघले सम्पूर्ण फिल्मको छायांकन रोक्न आग्रह गरिसकेको छ । भने, हल सञ्चालकहरु हल नै बन्द गर्ने वा विशेष सावधानी अपनाउने भन्ने विषयमा छलफल गरिरहेका छन् । राजधानीमा सञ्चालित प्रायः मल्टीप्लेक्स हलहरुले दर्शकलाई कोरोना भाइरसको संक्रमण हुन नदिन हलमा सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गर्न थालेका छन् ।
.jpg)
विश्वमा महामारीको रुप लिएको कोरोनाको डरले हलमा दर्शक आउन छाडेपछि प्रदर्शनरत फिल्मका निर्मातालाई ठूलो मार परेको छ । प्रदर्शनरत दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ मा अहिले दर्शक न्यून छन् । ‘आमा’ निर्देशक दीपेन्द्र के. खनालले गएको दुई दिनयता कोरोनाको त्रासदीले हलमा फिल्म हेर्ने दर्शक राम्रो नभएको बताए । तर, उनी दर्शकलाई नआत्तिन आग्रह गर्छन् ।
उनी भन्छन्, ‘दोस्रो हप्ताबाट हलमा ‘आमा’ हेर्ने दर्शक बढेका थिए । तर, गएको दुई दिनयता कोरोनाको आतंकले हलमा उल्लेख्य संख्यमा दर्शक आएका छैनन् ।’ नेपालमा अहिलेसम्म कोरोनाका विरामी नभेटिएका कारण डराउनु पर्ने अवस्था नभएको तर सजगता अपनाउन भने आवश्यक रहेको उनी बताउँछन् । अहिले हल बन्दै गर्नुपर्ने अवस्था नभएको पनि उनको तर्क छ ।
‘प्रेमगीत’ सिरिजका निर्माता तथा कलाकार सन्तोष सेनले पनि तत्काल सिनेमा हल बन्द गर्नुपर्ने अवस्था नभइसकेको बताए । ‘कोरोना भाइरसको हल्ला बढी भएको मात्र हो । हल्लाले नै नेपाली जनतामा त्रास उत्पन्न भएको छ । नेपालमा अहिलेसम्म कसैलाई कोरोना देखिएको छैन । हामी सजग चाहिँ अवश्य हुनुपर्छ । तर, डराएर घरमै लुकेर बस्नुपर्ने अवस्था भने छैन,’ उनले भने ।
उनी निर्मित फिल्म ‘प्रेमगीत ३’ आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । कोरोनाको त्रासले हलमा दर्शक नै आउन नसक्ने अवस्था भए फिल्मको रिलिज पोस्टपोन्ड हुनसक्ने उनले बताए । सेन भन्छन्, ‘कोरोनाको डरले हलमा दर्शक नै नआउने अवस्था भए फिल्म सार्नुको विकल्प छैन । तर, अझै एक हप्ता माहोल हेरेपछि मात्र फिल्म सार्ने या नसार्ने भन्ने निर्णय लिनेछौं ।’

चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको अर्को फिल्म ‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमार फेसबुकले कोरोनाको आतंक फैलाएको बताउँछन् । नेपालमा कसैलाई कोरोनाको संक्रमण नदेखिएका कारण आत्तिनु पर्ने अवस्था नभएको उनको भनाई छ । अहिले हल बन्द गर्नु पर्ने, छायांकन रोक्नु पर्ने र फिल्म प्रदर्शन गर्नै नहुने अवस्था सृजना नभइसकेको उनको बुझाई छ ।
निर्माता संघका महासचिव तथा निर्माता रोज राणा भने कोरोनाको जोखिम न्यूनिकरणका लागि फिल्म प्रदर्शन रोक्नुपर्ने तर्क राख्छन् । ‘कोरोनाको त्रासले अहिले हलमा दर्शक जान डराएका छन् । हलमा दर्शक नजाँदा घाटा निर्मातालाई हुन्छ । अहिले फिल्मको प्रदर्शन रोक्नु नै बुद्धिमानी हुन्छ,’ उनले भने । तत्काललाई फिल्मको छायांकन रोक्न पनि उनले निर्मातालाई आग्रह गरे ।
उनले अगाडि भने- ‘हामी चीनसँग नजिक छौं । अहिलेसम्म चीनको प्लाइट पनि रोकिएको रहेनछ । भारतमा समेत कोरोनाको संक्रमण देखिसकेको छ । भारतसम्म फैलिसकेको भाइरस नेपाल नआउला भन्न सकिन्न । त्यसमाथि भारतसँग हाम्रो खुल्ला नाका छ । यसकारण हामी फिल्मकर्मी भनेका अरुलाई ज्ञान दिने र अरुका लागि मार्गदर्शक भएकाले सचेत हुन जरुरी छ ।’

