Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 5.00/5.00)
Text size:-
+
-

कोरोना त्रासः फिल्मको छायांकन रोक्न निर्माता संघको आग्रह

फिल्मीखबर, काठमाण्डौ, 2020/03/05
चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ । हालसम्म कोरोना भाइरस विश्वका ७० बढी देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम रहेको देशका रुपमा लिएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । भाइरसको त्रासले अहिले नेपाली जनतामा मनोवैज्ञानिक असर परेको छ । 
 
कोरोना भाइरसको असर विश्व फिल्म बजारमा समेत नराम्रोसँग परेको छ । चीन, जापान, साउथ कोरिया र इटलीका हजारौं हल बन्द भएपछि हलिउडका ठूला फिल्महरुले धमाधम प्रदर्शन मिति सारिरहेका छन् । नेपाली हलमा समेत कोरोना भाइरसको त्रासले दर्शकको उपस्थिति पातलिँदै गएको छ । जसले गर्दा प्रदर्शनको तयारीमा रहेका फिल्म पोस्टपोन्ड हुने सम्भावना बढेको छ ।
 
 
हल सञ्चालकहरु हल नै बन्द गर्ने वा विशेष सावधानी अपनाउने भन्ने विषयमा छलफल गरिरहेका छन् । यसबीच, नेपाल चलचित्र निर्माता संघले फ्लोरमा रहेका सम्पूर्ण फिल्मको छायांकन रोक्न आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नभएसम्म छायांकन रोक्न निर्मातालाई संघले विज्ञप्तीमार्फत् आग्रह गरेको हो । 
 
निर्माता संघका महासचिव रोज राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कोरोना भाइरसबाट हुने जोखिम न्युनिकरणको लागि आफ्नो तह र तप्काबाट आम मानिसमा सचेतना जागृत गराउनका साथै छायांकन भइरहेका चलचित्रहरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ-आफ्नो चलचित्रको छायांकन कार्य स्थगन गर्नुहुन सबैमा अनुरोध गर्दछौं ।’
 
अहिले सीमित फिल्मको मात्र छायांकन भैरहेको छ । गत वर्षको तुलानामा यस वर्ष फिल्म निर्माणमा ठूलो गिरावट आएको छ । अहिले ‘ए मेरो हजुर ४’, ‘परदेशी २’ लगायतका केही फिल्मको छायांकन भैरहेको छ । चलचित्र निर्माता संघले कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि छायांकन रोक्न आग्रह गरेपछि छायांकनरत फिल्मका निर्मातालाई ठूलो घाटा हुने देखिएको छ । 
Most Visited News (monthly)