सौन्दर्य प्रतियोगिता मिस नेपालका थुप्रै ताजधारी सुन्दरीहरुले नेपाली फिल्ममा आफ्नो उपस्थिति जनाइसकेका छन् । तर, प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुब्बा, जेनिशा मोक्तान, मलिना जोशीसम्मको फिल्मी यात्रा सुखद बन्न सकेन । मिस नेपाल सृष्टि श्रेष्ठको पनि खासै राम्रो छैन । तर, प्रेमी सौगात मल्लका कारण फिल्म भने पाइरहेकी छन् ।
मिस नेपालको बाटो हुँदै अभिनेत्री बन्ने सोचसहित फिल्म अभिनयमा आएका प्रायः सुन्दरीहरुको फिल्मी करिअर निराशाजनक भए पनि नेपाली फिल्ममा भविष्य देख्नेहरुको संख्यामा कमी भने आएको छैन । यसको तात्तातो उदाहरण हुन्, निकिता चाण्डक । गएको माघमा प्रदर्शनमा आएको फिल्म ‘साङ्लो’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनी सन् २०१७ की मिस नेपाल हुन् ।
फिल्मको अभिनेत्री हुने उनको बाल्यकालदेखिको सपना थियो, जुन मिस नेपालको ताज जितेसँगै पूरा भयो । मिस नेपाल भएपछि उनले ‘रानी महल’ नामक फिल्म साइन गरेकी थिइन् । तर, यो फिल्म आधाउधी छायांकन नसकिँदै निर्माता र निर्देशकबीचको मनमुटावका कारण रोकियो । र, उनले अभिनेता विराज भट्टको फिल्म ‘साङ्लो’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्ने निर्णय लिइन् ।
फिल्मको ‘चरीले काफल’ बोलको गीतमा उनको नृत्य र हाउभाउको निकै प्रशंसा भएको थियो । गीत हेरेपछि उनले फिल्ममा पनि राम्रो अभिनय गरेको हुनसक्ने अनुमान गरिएको थियो । तर, उनले आफ्नो अभिनयबाट दर्शकलाई उत्ति साह्रो सन्तुष्टि दिन सकिनन् । फिल्ममा उनको अभिनय औसत थियो । उनले डाइलग डेलिभरी र अभिनयमा अझ मिहेनत गर्न आवश्यक देखिन्छ ।
यद्यपि, ‘साङ्लो’ ले निकिताको डेब्यू एक हदसम्म सार्थक भने बनायो । यो फिल्मले उनलाई एक्सन फिल्मप्रेमी दर्शकको एउटा वर्गमा चिनाएको छ । फिल्म बक्सअफिसमा डिजास्टर सावित नहुनु पनि उनका लागि अर्को सुखद पक्ष हो । यो फिल्मले घरेलु बजारबाट जेनतेन लगानी सुरक्षित गरेको छ । डेब्यू फिल्म असफल भएको भए उनको करिअरमा ठूलो असर गर्न सक्ने थियो ।
अभिनेत्री बन्न चाहनेहरु डेब्यू फिल्म नै एक्सन जनराको गर्न चाहँदैनन् । सकभर लभस्टोरी फिल्म नै खोज्छन् । एक्सन फिल्ममा हिरोलाई विशेष प्राथमिकता दिइने हुँदा हिरोइन सो-पिसमा मात्र सीमित हुन्छन् । तर, निकिताले डेब्यू फिल्म नै एक्सन जनराको गर्ने हिम्मत गरिन् । यसकारण पनि उनले आशा गरिएअनुसार जस पाइनन् । अब उनले दोस्रो फिल्म पो कस्तो रोज्ने हुन् कुन्नी ?

