Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थुप्रै फिल्म पैसा नलिइ गरेको छु : रेखा थापा

फिल्मीखबर, काठमाण्डौ, 2020/03/05
नेपाली फिल्मका लागि ब्रान्ड नाम हो, रेखा थापा । १८ वर्ष अगाडिको फिल्म ‘हिरो’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले एक समय नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेकी थिइन् । अभिनेत्रीले पनि फिल्म आफ्नो काँधमा बोकेर हिँड्न सक्छ भन्ने मान्यता स्थापित गरेकी उनले लभस्टोरीकी लभर गर्लदेखि एक्सन फिल्मकी एक्सन लेडीसम्मको भूमिका निभाइसकेकी छन् । 
 
 
झण्डै २ दशक लामो फिल्म करिअरमा २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी उनले आफूलाई अभिनेत्रीको रुपमा मात्र सीमित राखेकी छैनन् । उनले गायिका, निर्मात्री, निर्देशकको रुपमा पनि आफ्नो परिचय बनाइसकेकी छन् । एक समय एकसेएक हिट फिल्म दिएकी उनी अहिले भने एक हिट फिल्मको खोजीमा छिन् । उनी अभिनीत पछिल्ला कुनै फिल्म सफल छैनन् । 
 
अहिले अभिनेत्री रेखा थापा आउँदो बैशाखबाट छायांकन सुरु हुन लागेको नयाँ फिल्मको तयारी व्यस्त छिन् । अघिल्ला फिल्मझैँ यसमा पनि उनी एक्सन अवतारमा प्रस्तुत हुँदैछिन् । फिल्ममा उनले दयाहाङ राई र सौगात मल्लसँग स्क्रिन साझेदार गर्दैछिन् । सविर श्रेष्ठले फिल्मको निर्देशन गर्दैछन् । यसपछि उनी रेनशा वान्तवा राईले निर्देशन गर्ने फिल्मको तयारीमा जुट्नेछिन् । 
 
अभिनेत्री रेखाको अर्को वर्षका लागि पहिलो फिल्म ‘हिरो रिटर्न्स’ बैशाखको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘अन्दाज’ बाट आफूले नै अभिनेताको रुपमा भित्राएको सविन श्रेष्ठको आग्रह नकार्न नसकेर उनले यो फिल्म गरेकी थिइन् । बुधवार सार्वजनिक भएको फिल्मको ट्रेलरमा सविन र रेखा दुवै एक्सन अवतारमा देखिएका छन् । फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।
 
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा रेखाले ‘हिरो रिटर्न्स’ प्रदर्शनमा आउँदै गर्दा आफ्नो डेब्यू फिल्म ‘हिरो’ को स्मरण गरिन् । ‘हिरो’ लाई कसरी सम्झनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘यो फिल्मलाई सम्झन मसँग शब्द नै छैन । मेरो मनमा टाँसिएको फिल्म हो ‘हिरो’ । तर, यो फिल्मले मलाई हिरो बन भनिरहेको रहेछ भन्ने कुरा चाहिँ यदाकदा मेरो दिमागमा आउँछ ।’ 
 
 
कार्यक्रममा उनले नेपाली फिल्म नचलिरहेको प्रशंग झिक्दै सञ्चारकर्मीलाई कहिले काहिँ निःशुल्क फिल्मको प्रचार गर्न आग्रह गरिन् । उनको यही भनाईमा टेकेर पत्रकारले प्रश्न गरे- ‘तपाईंले चाहिँ कति फिल्म निःशुल्क गर्नुभयो ?’ उनले जवाफ फर्काउन समय लगाइनन् । ‘मैले थुप्रै फिल्म पैसा नलिइ गरेको छु । ‘हिरो रिटर्न्स’ मा पनि नलिएको जस्तै हो,’ रेखाले मुस्कुराउँदै भनिन् ।
Most Visited News (monthly)