
अर्जुन कपूर र परिणीति चोपडा स्टारर नयाँ फिल्म ‘सन्दिप और पिंकी फरार’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर दमदार बनेको छ । मेकर्सले फिल्मको ट्रेलरलाई निकै सस्पेन्स बनाउने कोशिश गरेका छन् । दिबाकर बनर्जी निर्देशित यो फिल्म २० मार्चमा प्रदर्शनमा आउँदैछ । यो फिल्मको नेपालमा समेत छायांकन भएको हो । ट्रेलरमा पनि नेपालको केही दृश्य देख्न सकिन्छ ।
यो फिल्मको २५ प्रतिशत सिन नेपाल–भारत सीमानामा पर्ने बैतडीको झुलाघाट नाकामा खिचिएको हो । फिल्मको छायांकनका लागि अर्जुन र परिणीति केही दिन नेपालमा बसेका थिए । ट्रेलरको २ मिनेट २७ सेकेण्डमा अर्जुन कपूरले एक पसलमा ‘नेपाली थाली पाइन्छ’ भनेर सोधेका छन् । यसअघि उनको ‘इन्डियाज मोस्ट वान्टेड’ नामक फिल्म पनि नेपालमा खिचिएको थियो ।
सस्पेन्स ट्रेलरले दर्शकमा फिल्मप्रति उत्सुकता बढाउने देखिन्छ । नेपाली भूमिमा छायांकन भएका कारण यो फिल्म नेपाली दर्शकमाझ पनि प्रतिक्षीत बन्ने देखिएको छ । फिल्ममा परिणीति र अर्जुनका अलावा जयदीप अहलावत र नीना गुप्ताको पनि प्रमुख भूमिका छ । यशराज ब्यानरले संसारभर प्रदर्शन गर्ने फिल्ममा अर्जुन पिंकी दहिया र परिणीति संदीप कौरको भूमिकामा छन् ।
अर्जुन र परिणीतिले सन् २०१२ मा आएको फिल्म ‘इशकजादे’ मा पहिलो पटक सँगै काम गरेका थिए । फिल्ममा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए । फिल्म पनि बक्सअफिसमा सफल भएको थियो । यसपछि उनीहरुले फिल्म ‘नमस्ते इंगल्याण्ड’ मा काम गरे । तर, यो फिल्म नराम्रोसँग पछारियो । अब, यी दुवैलाई ‘सन्दिप और पिंकी फरार’ प्रति आश छ ।
ट्रेलर हेर्नुहोस् :-

