महाभूकम्पपछि सामाजिक कार्यमा होमिएको हास्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले पहिलो पटक निर्माण र ठूलो पर्दामा स्क्रिन साझेदार गरेको फिल्म ‘सेन्टी भाइरस’ ले आउँदो शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन आरम्भ गर्दैछ । प्रदर्शनको ९ दिनमा ४ करोडमाथि कमाई गरेको फिल्मले प्रदर्शनको दुई दिन बक्सअफिसमा आक्रामक व्यापार गरेको थियो ।
.jpg)
तर, आइतवारबाट समीक्षकको नकारात्मक समीक्षाले फिल्मको व्यापारमा ठूलो असर पुर्यायो । यद्यपि, फिल्मको कमाई दयनिय भने छैन । फिल्मले दोस्रो हप्तामा पनि देशभर पर्याप्य हल पाएको र व्यापार पनि सुखद रहेको वितरकको दाबी छ । प्रदर्शनको ९ दिने कमाई, ओभरसिज राइट्स र डिजिटल राइट्सबाट फिल्मको लगानी उठिसकेको कलाकार ‘धुर्मुस’ को भनाई छ ।
फिल्मको आम्दानीको ५० प्रतिशत भरतपूरमा निर्माणाधिन रंगशालामा खर्चिने ‘धुर्मुस सुन्तली’ ले घोषणा गरेकाले पनि फिल्म हेर्न दर्शकको चाप हलमा बढ्दो छ । केही दिनदेखि देशभरका विभिन्न स्कूल तथा संघ-संस्थाहरुले रंगशाला निर्माण अभियानमा सहयोग गर्न हल नै बुक गरेर फिल्म हेरिरहेका छन् । यसबाट पनि फिल्मले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ ।
यसबीच, फिल्मका मुख्य पात्र सिताराम कट्टेलले ‘सेन्टी भाइरस’ आफूहरुको कलाकारिता धर्मको उपज रहेको बताउँदै रंगशालालाई सहयोग गर्ने मन भएका तर माध्यम नभएका जो कोहीका लागि यो फिल्म गतिलो माध्यम रहेको बताएका छन् । बुधबार फेसबुकमा लामो स्टाटस कोर्दै उनले अरु फिल्मसँग प्रतिस्पर्धा गर्न आफूहरुले फिल्म नबनाएको पनि लेखेका छन् ।
सिताराम कट्टेल ‘धुर्मुस’ ले फेसबुकमा लेखेको स्टाटस यस्तो छ :-
हामीलाई परिचय कलाकारिताले दिएको हो र हाम्रो जीविकोपार्जन पनि यही कलाकारिताले नै भएको छ । कलाकारिता हाम्रो धर्म हो हामी यसलाई चाहेर पनि भुल्न सक्दैनौँ त्यसैले यसलाई भुल्ने चाहना कहिल्यै राख्दैनौँ । जीवनमा जति नै सम्पत्ति कमाए पनि अन्तिममा चाहिने आत्मसन्तुष्टि नै हो । आत्मसन्तुष्टिभन्दा ठूलो धन हामीले केहीलाई ठानेका छैनौँ । यस अर्थमा कलाकारिता र आत्मसन्तुष्टि हाम्रा दुईटा फोक्सा हुन् जुन बिना हामी सास फेर्न सक्दैनौँ ।
चलचित्र ‘सेन्टी भाइरस’ हाम्रो यही कलाकारिता धर्मको उपज हो । चलचित्र निर्माणमा ठुलो रकम लगानी हुन्छ । लगानी हुनुको उद्देश्य त्यसको आम्दानी राम्रो हुनुसँग गाँसिएको हुन्छ नै । फरक यति हो आफूले गरेको आम्दानीको उपयोग केमा गर्ने भन्ने हो ? हामीले देशको हित र हाम्रो आत्मसन्तुष्टिलाई केन्द्रमा राखेर यसको आम्दानीको आधा हिस्सा जनस्तरबाट निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लगानी गर्ने निर्णय सार्वजनिक गरिसकेका छौँ । हामीलाई विश्वास छ देशको समृद्धिमा नागरिकको जीत हुन्छ ।
रङ्गशाला निर्माणका क्रममा निर्माणस्थलमा महायज्ञ सम्पन्न भइसकेको छ । अध्यात्मलाई मन पराउनुभएका लाखौँ मानिसको उपस्थिति र सहयोगले हाम्रो हौसला बढेको छ । उहाँहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । कलालाई मन पराउनु हुने लाखौँ मानिसको चलचित्र ‘सेन्टी भाइरस’ प्रतिको मायालाई पनि उच्च सम्मान व्यक्त गर्दछौँ । तपाईँहरूकै न्यानो माया र सद्भावका कारण चलचित्र दोस्रो हप्तासम्म आइपुगेको छ । रङ्गशालालाई सहयोग गर्ने मन भएका तर माध्यम नभएका जो कोहीका लागि पनि यो एउटा गतिलो माध्यम हो । तपाईँले घर नजिकैको हलमा गएर यो चलचित्र हेर्न अर्थात् मनोरञ्जनका निम्ति तिरेको रकमबाट रङ्गशालालाई सानो भए पनि सहयोग पुग्नेछ । त्यसैले हेर्न बाँकी रहनुभएका दर्शकले पनि आगामी दिनमा चलचित्र हेरी रङ्गशालालाई सहयोग पुर्याउनु हुनेछ भन्ने कुरामा हामी उत्तिकै विश्वस्त छौँ ।
हामीले निजी स्वार्थलाई तिलाञ्जली दिएर सामूहिक स्वार्थलाई अँगालेका हौँ । रङ्गशाला निर्माण गर्दा होस् या चलचित्र निर्माण गर्दा, हामीले सानी छोरीलाई यथोचित समय प्रदान गरेर जिम्मेवार अभिभावक बन्न सकेका छैनौँ । एउटी छोरीको समय चोरेरै भए पनि हजारौँ छोराछोरीको भविष्य अनि लाखौँ छोराछोरीको भावी खुसीलाई रोजेर राष्ट्र निर्माणमा सानो भए पनि योगदान गर्न खोजेका हौँ । हामीले आज एउटी छोरीको खुसी हेरेनौँ, लाखौँ छोरा छोरीको भोलीको मुस्कान हेर्यौँ ।
यो चलचित्र निर्माणको उद्देश्य अरू चलचित्रसँगको प्रतिस्पर्धा होइन । केवल कलाको उच्च सम्मान गर्दै रङ्गशालालाई सहयोग पु-याउनु हो । यो चलचित्रसँगै प्रदर्शनमा आएका अरू चलचित्रको पनि पूर्ण सफलताको कामना गर्दछौँ । चलचित्र हेरेर हामीलाई दिनुभएका सम्पूर्ण सुझावलाई आगामी मार्गदर्शनका रूपमा हामीले खुला हृदयले स्विकारेका छौँ । हामी दर्शकको मन दुखाउन हैन जित्न चाहन्छौँ । चलचित्र निर्माणको हाम्रो यात्रा निकै बाँकी छ । आगामी दिनमा अझ फरक शैली र स्वादका चलचित्र पस्कँदै जानेछौँ ।
विभिन्न व्यक्ति, संघ-संस्था आदिले चलचित्रका माध्यमबाट साथै अन्य माध्यमबाट गर्नुभएको सहयोगको उच्च सम्मान गर्दछौँ । तपाईँको सहयोग र विश्वासलाई कहिल्यै मर्न दिने छैनौँ । चलचित्रबाट संकलित रकमको हिसाब चलचित्र प्रदर्शन पश्चात सार्वजनिक गर्नेछौँ । हाम्रा काम या यात्रामा कतै कुनै कमी-कमजोरी भए प्रष्टसँग औँल्याइदिनुहुन सबैमा अनुरोध गर्दछौँ । हाम्रा निम्ति दर्शक, शुभचिन्तक, प्रशंसक, आलोचक, सहयोगी सबै-सबै ऐना हुनुहुन्छ । हामी तपाईँकै कुरामा हाम्रो प्रतिविम्ब पाउँछौँ । तपाईँको सानो सुझाव हाम्रा लागि मार्गदर्शन हुने कुरामा पूर्ण विश्वस्त छौँ । असल उद्देश्य राखेर थालेको र तपाईँ हामी सबै मिलेर अपनत्व महसुस गर्दै अघि बढेको काम चाँडै पूरा हुनेछ । देशको विकास होस् । सबैको राम्रो होस् । धन्यवाद ।

