बेलायतका १० मध्ये ८ जना व्यक्ति फिल्म हेरिसकेपछि मात्र कुन स्थान घुम्न जाने भन्ने निर्णय लिने गरेको बताइन्छ । फिल्मले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्नसक्छ भन्ने यो एउटा उदाहरण हो । तर, नेपालमा ‘ए ग्रेड’ का विदेशी फिल्म छायांकन हुन सकेका छैनन् । फिल्म छायांकनका लागि अनुमति लिन एकद्धार नीति नहुँदा विदेशी फिल्ममेकर नेपाल आउन हत्तपत्त चाहँदैनन् ।
नेपाल सरकार अब विदेशी फिल्म छायांकनका लागि एकद्धार नीति ल्याउने तयारीमा छ । यो लागू भएको खण्डमा फिल्म छायांकनका लागि विदेशी फिल्ममेकरको पहिलो रोजाइ नेपाल बन्नसक्छ । प्राकृतिक सुन्दरतामा धनि राष्ट्र भएका कारण हलिउड र बलिउडका ठूला फिल्मको नेपालमा छायांकन हुनसके यसले नेपाल आउने पर्यटकको संख्यामा पनि वृद्धि गर्न सक्नेछ ।
फिल्मले पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने उद्येश्यले नेपाल सरकार एकद्धार नीति नीति ल्याउने तयारीमा रहँदा केही बलिउड फिल्मले भने नेपाललाई आतंकवादी लुक्ने अखडाको रुपमा चिनाइरहेको छ । जसले नेपालको पर्यटन प्रवद्र्धनमा समेत ठूलो असर पुग्ने देखिन्छ । बलिउडले आतंकवादी विषयवस्तुमा बनाउने फिल्ममा नेपाल जोड्न कहिल्यै भुल्दैन ।
यस वर्ष प्रदर्शनमा आएको बलिउड अभिनेता अर्जुन कपूर अभिनीत फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ को अधिकांश छायांकन नेपालको पोखरामा भएको थियो । यो फिल्ममा भारतका विभिन्न ठाउँमा भएका बम आक्रमणका मुख्य योजनाकार यासिन भट्कल पोखरामा लुकेर बसेको र नेपाललाई पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइको प्रभाव स्थलका रुपमा देखाइएको थियो ।

यद्यपि, नेपाली डिस्ट्रिब्युटरले यो फिल्म नेपालमा ल्याएनन् । फिल्ममा केही नेपाली कलाकारले समेत अभिनय गरेका थिए । योभन्दा अगाडि अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेबी’ पनि नेपालमा खिचिएको थियो । यसमा पनि नेपाललाई आतंकवादी लुक्ने सुरक्षित स्थानको रुपमा चित्रित गरिएको थियो । केही साउथ फिल्मले समेत नेपाललाई यस प्रकारले प्रस्तुत गरेका छन् ।
सोमवार रोहित शेट्ठी निर्देशित बलिउडको यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘सूर्यवंशी’ को ट्रेलर सार्वजनिक भयो । अक्षय कुमार, अजय देवगन, रणवीर सिंह र कटरीना कैफको अभिनय रहेका कारण यो फिल्म नेपालमा समेत प्रतिक्षीत छ । ४ मिनेट लामो ट्रेलरमा आतंकवादी हमला रोक्न एक पुलिस पात्रले गर्ने लडाईंको कथा देखाइएको छ । यो फिल्मले पनि नेपाललाई जोडेको छ ।
ट्रेलरमा नेपालमा खिचिएको दृश्य नदेखाइए पनि संवादमार्फत् ‘सूर्यवंशी’ को कथा नेपालसँग जोडिएको स्पष्ट हुन्छ । ट्रेलरमा नेपाल प्रहरीको संवाद राखिएको छ । ट्रेलरको सुरुवात र अन्त्यमा नेपाल प्रहरीको वाकीट्वाकी भाषाको प्रयोग गरिएको छ । ‘हाम्रो पेट्रोलिङ भ्यान इन भयो ‘रोजर’ लेकसाइड नर्मल छ है’ भन्ने नेपाली संवाद ट्रेलरको अन्तिम ४ मिनेट ५ सेकेण्डमा सुन्न सकिन्छ ।
‘सूर्यवंशी’ को नेपालमा छायांकन भएको जानकारी प्राप्त छैन । तर, फिल्ममा नेपाल प्रहरीले वाकीट्वाकीमार्फत् बोल्ने संवाद समावेश गरेपछि यो फिल्मले पनि नेपाललाई आतंकवादीको सुरक्षित आश्रयस्थलको रुपमा चित्रित त गरेको छैन भन्ने शंका उब्जाएको छ । ट्रेलरमा समावेश नेपाल प्रहरीको संवाद सुन्दा फिल्मको छायांकन पोखरामा भएको अनुमान गर्न सकिन्छ ।
ट्रेलर हेरेरै ‘सूर्यवंशी’ मा नेपाललाई अपराधिक हबको रुपमा प्रस्तुत गरिएको छ भन्नसक्ने आधार छैन । फिल्म हेरिसकेपछि मात्र यसको पुष्टि हुनेछ । फिल्मले नेपाललाई आतंकवादी लुक्ने आश्रयस्थलको रुपमा चित्रित गरेको छ भने नेपालको सेन्सर बोर्डले कडाइ गर्न आवश्यक छ । यस प्रकारका फिल्मलाई खुल्ला छाड्ने हो भने नेपालको स्वाधिनतामाथि नै खतरा हुनसक्छ ।
ट्रेलर हेर्नुहोस् :-

