Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘सेन्टी भाइरस’ को ९ दिने कमाई ४ करोड ग्रस

फिल्मीखबर, काठमाण्डौ, 2020/03/01
रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ ले प्रदर्शनको पहिलो हप्ता बक्सअफिसमा राम्रो कमाई गर्न सफल भएको छ । आइतवार निर्माण टिमले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका राजधानी र मोफसलका वितरकले शनिवारसम्मको व्यापार आँकडा सार्वजनिक गरेका छन् । वितरकको रिपोर्ट अनुसार, फिल्मको ९ दिने कमाई ४ करोडमाथि छ । 
 
 
राजधानीका वितरक गोविन्द शाहीले फिल्मको ९ दिनसम्मको कमाई देशभर गरि ४ करोड ८ लाख ग्रस रहेको जानकारी दिए । यसमा राजधानीको २ करोड १० लाख ३ हजार र मोफसलको १ करोड ९० लाख ५ हजार योगदान छ । उनी ६ महिनादेखि हलमा दर्शक नआएर धरासायी हुने अवस्थामा रहेको नेपाली फिल्म क्षेत्रलाई ‘सेन्टी भाइरस’ ले ठूलो आशा जगाएको बताउँछन् । 
 
वितरक गोविन्द शाहीले दोस्रो हप्तामा पनि फिल्म देशभर ८० भन्दा बढी हलमा प्रदर्शन भैरहेको जानकारी दिए । उनले फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै भने, ‘छ महिनापछि ‘सेन्टी भाइरस’ ले हलमा दर्शकको भीड ल्याएको छ । दोस्रो हप्ताको शुक्रवार र शनिवार पनि फिल्म देशभर हाउसफुल रह्यो । यसरी हेर्दा फिल्म लामो रेसको घोडा बन्नेमा हामी विश्वस्त छौं ।’ 
 
फिल्मका प्रमुख कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले भरतपुरमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माण अभियानमा सघाउन फिल्म हेर्ने सम्पूर्ण दर्शकलाई धन्यवाद व्यक्त गरे । उनले फिल्मको आम्दानीको ५० प्रतिशत क्रिकेट रंगशालामा खर्चिने वाचा दोहोर्‍याउँदै हल व्यापार, डिजिटल राइट्स र ओभरसिज राइट्स मिलाएर फिल्ममा लगानी भएको २ करोड ८५ लाख उठेको बताए । 
 
 
सितारामले भने, ‘जुन अभियानका लागि हामीले फिल्म निर्माण गरेका थियौं अब हामी त्यसतर्फ अगाडि बढेका छौं । फिल्मको लगानी सुरक्षित भैसकेको अवस्था छ । अब फिल्मबाट हुने मुनाफाको ५० प्रतिशत रंगशाला निर्माणमा जानेछ ।’ प्रदर्शनको दुई दिन फिल्मले आक्रामक व्यापार गरे पनि आइतबारपछि केही कन्फ्यूजले व्यापारमा घटबढ भएको उनको भनाई छ । 
 
उनी फिल्मलाई समीक्षकबाट प्राप्त सल्लाह, सुझाव र प्रतिक्रियालाई आफूहरुले आत्मसात् गरेको बताउँछन् । ‘फिल्मको समीक्षा गर्नु उहाँहरुको अधिकार हो । हामी त्यसलाई सहर्ष स्वीकार गर्छौं र त्यसप्रति कुनै गुनासो र दुखेसो छैन,’ उनले भने । आफूहरुको पहिलो प्रयासमा भएका कारण ‘सेन्टी भाइरस’ मा भएका कमी-कमजोरीलाई आगामी दिनमा हुन नदिने उनको वाचा छ । 
 
कलाकार सिताराम कट्टेलले अब आफू पूर्णरुपमा रंगशाला निर्माणमा खटिने र रंगशाला निर्माण भएपछि कलाकारितालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । ‘सेन्टी भाइरस २’ बन्ने सम्भावना कति छ ? भन्ने पत्रकारको प्रश्नमा उनले सिक्वेलभन्दा पनि आफू नयाँ फिल्म लिएर आउने सोचमा रहेको बताए । उनले आफूहरुले भनेकै समयमा रंगशाला निर्माण हुने दाबी पनि गरे । 
 
 
सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्म ‘सेन्टी भाइरस’ मा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, कमलमणी नेपाललगायतका कलाकाहरुको अभिनय छ । फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सह-निर्माता फूर्पा लामा हुन् । फिल्मको कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।
Most Visited News (monthly)