Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

प्रियंका र आयुष्मानले कसे लगनगाँठो

फिल्मीखबर, काठमाण्डौ, 2020/02/28
 
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले लगनगाँठो कसेका छन् । शुक्रवार बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । विवाह समारोहमा प्रियंका र आयुष्मानका पारिवारिक सदस्यसँगै उनीहरुका निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो । आजै साँझ उनीहरुले रिसेप्सन पार्टी पनि दिँदैछन् । 
 
दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले बिहीवार जिल्ला अदालत काठमाडौं पुगेर कानुन अनुसार विवाह गरेका थिए । प्रियंकाको जन्मदिनको अवसरमा उनीहरुले कागजी विवाह गरेका हुन् । कानुनी विवाह गरेपछि यो जोडीले शुक्रवार सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् । प्रियंकालाई लिन आयुष्मान रोल्स रोयस कार चढेर पुगेका थिए । 
 
गत वर्ष नै टिकाटालो गरेका प्रियंका र आयुष्मान गएको असारमा विवाह गर्ने तयारीमा थिए । तर, दुवै पक्षका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाहको मिति सरेको थियो । प्रियंकाले अब यस वर्ष विवाह नहुने बताउँदै आएकी थिइन् । अन्ततः यसै वर्ष आयुष्मान र प्रियंकाले अग्नीलाई साक्षी राखेर जीवनभर एकअर्कालाई साथ दिने वाचा गर्दै श्रीमान्-श्रीमती भएका छन् ।
 
फिल्म ‘कथा काठमाण्डू’ को सेटबाट उनीहरुबीच प्रेमको पालुवा पलाएको थियो । प्रेम सम्बन्धमा रहेको खबर बाहिर आएपछि उनीहरुले पनि कहिल्यै लुकाउन आवश्यक ठानेनन् । सार्वजनिक कार्यक्रमहरुमा जाँदा उनीहरु एकअर्कासँगै पुग्थे । ‘चंगा चेट’ र ‘प्रेम दिवस’ नामक फिल्ममा पनि सँगै काम गरिसकेको यो जोडीले विवाहपछि सँगै बस्न काठमाडौंमा घर समेत किनिसकेको छ । 
Most Visited News (monthly)