.jpg)
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले २ वर्ष लामो प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गरेका छन् । उनीहरुले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर कागजी विवाह गरेका हुन् । अदालतमा एकअर्कालाई माला लगाएर उनीहरु कानुनी रुपमा श्रीमान्-श्रीमती बनेका हुन् । प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ ।
अदालतमा उनीहरुका निकट पारिवारिक सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । प्रियंकाले आयुष्मानसँगको तस्विर फेसबुकमा साझेदार गर्दै आफूहरुले कानुनअनुसार विवाह गरेको जानकारी दिएकी छन् । उनले ‘मिस्टर एण्ड मिसेस’ भनेर पनि लेखेकी छन् । शुक्रवार भने उनीहरुले बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यूमा हिन्दू परम्परा अनुसार विवाह गर्दैछन् ।
गत वर्ष नै इन्गेजमेन्ट गरिसकेका उनीहरुको केही दिनयता होटल पार्क भेन्यूमा विवाह अघिका विभिन्न कार्यक्रमहरु भैरहेका छन् । यो जोडीले आफ्नो मेहेन्दी र संगीत समारोहका तस्विर र भिडियोहरु सामाजिक सञ्जालमा बाक्लै साझेदार गरिरहेका छन् । प्रियंकाले आफ्नो हातमा मेहेन्दीले आयुष्मानको नाम लेखाएकी छन् । भने, आयुष्मानको हातमा प्रियंकाको नाम लेखिएको छ ।
फिल्म ‘कथा काठमाण्डू’ को सेटबाट उनीहरुबीच प्रेम अंकुराएको थियो । प्रेम सम्बन्धमा रहेको खबर बाहिर आएपछि उनीहरुले पनि कहिल्यै लुकाएनन् । प्रायः सार्वजनिक कार्यक्रममा उनीहरु एकअर्कासँगै पुग्ने गरेका थिए । यो जोडीले ‘चंगा चेट’ र ‘प्रेम दिवस’ नामक फिल्ममा पनि सँगै काम गरिसकेको छ । अहिले उनीहरुले फिल्ममा एकअर्कालाई सिफारिस गर्ने गरेको चर्चा छ ।

