Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘सेन्टी भाइरस’ हेर्न स्कुलदेखि सहकारीसम्मले गरे हलै बुक

फिल्मीखबर, काठमाण्डौ, 2020/02/27
कलाकारिता हुँदै सामाजिक कार्यमा होमिएको हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले पहिलो पटक ठूलो पर्दामा स्क्रिन साझेदारी गरेको फिल्म ‘सेन्टी भाइरस’ ले भोली शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गर्दैछ । तीन दिने विकेन्डमा तीन करोडको हाराहारीमा व्यापार गरेको फिल्मको सोमबारबाट कमाईमा केही गिरावट आए पनि कमजोर भने छैन । 
 
रामबाबु गुरुङ निर्देशित फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खर्च गर्ने ‘धुर्मुस सुन्तली’ ले घोषणा गरिसकेका छन् । यसकारण पनि दर्शकहरु रंगशाला निर्माणको सहयोगार्थ फिल्म हेर्न हल पुगिरहेका छन् । अहिले रंगशाला निर्माणमा सघाउन विद्यालयदेखि विभिन्न संघ संस्थाहरुले हल नै बुक गरेर फिल्म हेर्न थालेका छन् ।
 
आज बिहीवारका लागि राजधानीमा सञ्चालित मल्टीप्लेक्सहरुले फिल्मलाई उपलब्ध गराएका सोज प्रायः सोल्ड आउट भैसकेका छन् । फिल्म हेर्न हल नै बुक गरेर रंगशाला निर्माणमा हातेमालो गरेको भन्दै कलाकार सिताराम कट्टेलले धन्यवाद व्यक्त गरेका छन् । बिहीवार राजधानीमा सञ्चालित विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई ‘सेन्टी भाइरस’ देखाउन हल नै बुक गरेका छन् । 
 
 
बिहीवार अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्सले लाबिम मलको १२ः४५ बजेको शो, न्यु जेनिथ स्कुलले छाँया सेन्टरको तीनवटै हल, जेम्स स्कुलले लाबिम मलको विहान ९ बजेको तीनवटै हल बुक गरेर विद्यार्थीलाई फिल्म देखाएको छ । यस्तै, ओलम्पियन दीपक विष्टले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको निमित्त बानेश्वरको वान सिनेमाजमा बिहीवार दिउँसो १२ बजेको शो किनेका छन् ।
 
जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि बिहीवार कुमारी हलको साँझ ६ बजे र मिट लाइफ इन्सुरेन्सले छायाँ सेन्टरको ३ बजेको शो बुक गरिसकेको कलाकार सिताराम कट्टेलले जानकारी दिए । बुधवार पनि भि.एस. निकेतन स्कुलले कुमारी हलको १२ बजेको शो बुक गरेर आफ्ना विद्यार्थीलाई फिल्म देखाइसकेको छ । 
 
फिल्ममा ‘धुर्मुस सुन्तली’ सँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ । श्रीमान्-श्रीमती दुई फरक पार्टीमा आबद्ध हुँदा उत्पन्न हुने समस्यामा फिल्म केन्द्रित छ । कथावस्तु बलियो भए पनि प्रस्तुतीकरण फितलो हुँदा फिल्म उत्कृष्ट बन्न सकेको छैन । यद्यपि, केही पञ्चलाइन भने गजब छन् । 
Most Visited News (monthly)