Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिक्सा चालकलाई ‘धुलो’ को सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2020/02/27
यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको कलाकार बुद्धि तामाङ अभिनीत फिल्म ‘धुलो’ ले बुधवार क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रमका बीच लामो रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मान गरेको छ । ठमेल, क्षेत्रपाटी क्षेत्रमा रिक्सा चलाउँदै आएका हिरालाल तामाङ र बलबहादुर श्रेष्ठलाई फिल्मको टिमले सम्मान गरेको हो । 
 
उनीहरुलाई बरिष्ठ कलाकार नीर शाह, नेपाल टेलिभिजनका महाप्रबन्धक गोबिन्द रोक्का र फिल्मका निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका हुन् । त्यस्तै, एक सयभन्दा बढी रिक्सा चालकलाई ‘धुलो’ अंकित ज्याकेट समेत प्रदान गरिएको थियो । कार्यक्रममा फिल्मका तर्फबाट नागार्जुन एकेडेमीमा रिक्सा मजदुरका दुईजना छोरा-छोरीलाई छात्रवृत्तिको व्यवस्था पनि मिलाइएको छ ।
 
 
कार्यक्रममा ‘धुलो’ ले गरेको सामाजिक कार्यको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतका अथितिले प्रशंसा गरेका थिए । कार्यक्रमपछि ‘धुलो’ मा विशेष भूमिकामा रहेका नीर शाह, कलाकार बुद्धि तामाङ, निर्देशक मिश्र, निर्माता संघका अध्यक्ष अधिकारीलगायतले रिक्सामा क्षेत्रपाटी परिक्रमा गरेका थिए । 
 
राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको कथामा फिल्म निर्माण गरेकाले उनीहरुकै सम्मानमा कार्यक्रम गरिएको निर्देशक मिश्रले बताए । कार्यक्रममा बोल्दै अभिनेता शाहले ‘धुलो’ ले मजदुर र मजदुरीको सम्मान गरेकोमा खुशी व्यक्त गरे । त्यस्तै, कलाकार तामाङले आफू ‘धुलो’ मा वास्तविक जीवनहरुसँग नजिक रहेको पात्रमा प्रस्तुत भएको बताए ।
 
दीपा धरेलको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, लक्ष्मी बर्देवा, बालकलाकार सुदीप कार्कीलगायतका कलाकारको अभिनय छ । लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता रहेको फिल्ममा केशव मिश्र र दीपक समीरको गीत, शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको छायांकन रहेको छ । 
Most Visited News (monthly)