अभिनेता हुँदै फिल्म ‘ड्रिम्स’ बाट निर्देशक बनेका भुवन केसीले पछिल्लो पटक निर्माण गरेको फिल्म ‘क्याप्टेन’ हो । तर, यो फिल्मले बक्सअफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेन । यसपछि उनले आफ्नो होम प्रोडक्सन काजल फिल्मस्को ब्यानरमा फिल्म ‘एन्टी हिरो’ बनाउने घोषणा गरे । फिल्ममा उनले अभिनेता अनमोल केसीसँग अभिनेत्री जसिता गुरुङको जोडी बाँधेका छन् ।
‘एन्टी हिरो’ मा आफू पनि अभिनय गर्न लागेका भुवन फागुन दोस्रो साताबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा थिए । तर, अनमोलले ‘ए मेरो हजुर ४’ साइन गरेपछि उनले फिल्मको छायांकन बैशाखसम्मलाई रोके । उनले स्क्रिप्टमा काम भैरहेका कारण फिल्मको छायांकन केही समय पछाडि धकेलिएको बताएका थिए । तर, यो फिल्मको छायांकन फेरि पछाडि धकेलिएको छ ।
मंगलवार अभिनेता अनमोलले फिल्म ‘पारस’ गर्ने फाइनल भएपछि ‘एन्टी हिरो’ को छायांकन तत्काललाई रोकिएको हो । ‘पारस’ को कथा तयार भैसकेको र राम्रो लागेका कारण अनमोलले यो फिल्म अगाडि गर्न लागेको निर्माता भुवन केसीले जानकारी दिएका छन् । फिल्मको निर्माण उनी आफैंले गर्दैछन् । भने, ‘लुट’ जस्तो ब्लकबस्टर फिल्म बनाएका माधव वाग्लेले निर्देशन गर्नेछन् ।
(1).jpg)
तर, ‘एन्टी हिरो’ को छायांकन दोस्रो पटक पोस्टपोन्ड भएपछि अब यो फिल्म निर्माण नहुने र ‘पारस’ मा ‘एन्टी हिरो’ का लागि अनुबन्ध भएकी अभिनेत्री जसिता गुरुङले अभिनय गर्न लागेको चर्चा चलेको छ । यस विषयमा अभिनेता भुवन केसीले आफ्नो मुख खोलेका छन् । उनले ‘पारस’ पछि ‘एन्टी हिरो’ निर्माण हुने बताउँदै जसिताको ‘पारस’ मा अभिनय नहुने स्पष्ट पारेका छन् ।
उनले भने, ‘अहिलेसम्म ‘एन्टी हिरो’ को स्क्रिप्टमा काम सकिएको छैन । स्क्रिप्ट पूर्ण रुपमा तयार नभइ फिल्म कसरी बनाउने ? स्क्रिप्टलाई बलियो बनाउन हामीले समय लगाएका हौं । तर, फिल्म चाहिँ अवश्य बन्छ । र, जसिताको ‘पारस’ मा अभिनय रहने भन्ने हल्लामा सत्यता छैन । हामीले उनलाई ‘एन्टी हिरो’ का लागि अनुबन्ध गरेका हौं र यही फिल्ममा उनले अभिनय गर्नेछिन् ।’
‘पारस’ को स्क्रिप्ट बुलन्द रहेका कारण फिल्म पनि उत्कृष्ट बन्ने उनको विश्वास छ । भुवनले थपे, ‘फिल्मको स्क्रिप्ट मलाई र अनमोल दुवैलाई मनपर्यो । फिल्ममा अनमोलको लुक्स र गेटअप केही परिवर्तन हुनेछ । तर, तौल घटबढ गर्नुपर्ने चाहिँ छैन ।’ उनले केही दिनमा फिल्मका लागि अभिनेत्रीको टुंगो लाग्ने बताए । उनका अनुसार, फिल्ममा नयाँ अभिनेत्री हुने प्रवल सम्भावना छ ।

