शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ ले बक्सअफिसमा ठूलो व्यापार गर्न नसके पनि हलमा दर्शकको चाप भने विस्तारै बढाइरहेको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्मले घरेलु बजारबाटै लगानी उठाउनेमा निर्मात्री शर्मिला पाण्डे विश्वस्त छिन् । फिल्मलाई दर्शक र समीक्षकबाट लोभलाग्दो प्रतिक्रिया मिलेको छ ।
फिल्मले पाएको सकारात्मक प्रतिक्रियाका कारण हलमा दर्शकसँगै नेपाली फिल्मकर्मीहरुको पनि उपस्थिति बाक्लिन थालेको छ । मंगलवार (हिजो) यही फागुन ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ टिमले राजधानीको कुमारी हलमा पुगेर ‘आमा’ हेरेको छ । निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहले एकसाथ फिल्म हेरेका हुन् ।
फिल्म हेरेपछि निर्देशक थापा भावुक हुँदै निस्किएका थिए । उनले फिल्म हेरुन्जेल आँशु थामे पनि बाहिर निस्कँदा अभिनेत्री सुरक्षा पन्तलाई देखेपछि आँशु थाम्न नसकेको बताए । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्देशक खनालको तारिफमा भने- ‘यस्तो विषयमा जो कोहीले फिल्म बनाउने हिम्मत नै गर्दैन । म आफैं पनि यस्तो विषयमा फिल्म बनाउने हिम्मत गर्न सक्दिनँ ।’
.jpg)
‘आमा’, निर्देशक खनाल र फिल्मकर्मीको मात्र नभएर हरेक घरको फिल्म रहेको उनको भनाई छ । उनले यो फिल्म नछुटाइ हेरिदिन दर्शकलाई आग्रह गरे । अभिनेत्री पूजा शर्मालाई पनि फिल्मले निकै छोएछ । उनले दुवै हात जोडेर सबै दर्शकलाई फिल्म हेरिदिन आग्रह गरिन् । ‘म पहिलो पटक कुनै फिल्म हेरेपछि हात जोडेर भन्दैछु, यो फिल्म सबैले हेरिदिनुहोला,’ उनले भनिन् ।
‘हरेक व्यक्तिले हेर्नुपर्ने फिल्म हो यो । फिल्ममा देखाइएको हस्पिटलले दिने दुःख मैले पनि भोगेको छु । यदी तपाईंहरुलाई यो थाहा छैन भने आफू जोगिनका लागि पनि ‘आमा’ हेर्नुहोला,’ अभिनेत्री पूजाले अगाडि थपिन्, ‘फिल्ममा केही कुरा पनि फेक छैन । एकदमै सत्य घटनामा फिल्म बनेको छ ।’ उनले अभिनेत्री सुरक्षाको अभिनयको प्रशंसा गर्न आफूसँग शब्द नभएको बताइन् ।
त्यस्तै, अभिनेता पल शाहले फिल्म निकै मर्मस्पर्शी बनेको बताए । फिल्ममा आफूलाई रिलेट गरेको बताउँदै उनले भने, ‘मध्यमवर्गीय परिवारमा आउने समस्या, हस्पिटलभित्र हुने लुट, आमा र छोरीको सम्बन्धलाई फिल्ममा निकै मनछुने ढंगबाट देखाइएको छ । फिल्म मलाई साह्रै मनपर्यो ।’ ‘आमा’ मा सुरक्षा पन्त र मिथिला शर्मा आमा-छोरीको भूमिकामा छन् ।

