Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 5.00/5.00)
Text size:-
+
-

अनमोलले ‘पारस’ गर्ने सम्भावना कति ?

फिल्मीखबर, काठमाण्डौ, 2020/02/25
अभिनेता अनमोल केसीको करिअर अहिले सफलताको उत्कर्षमा छ । अभिनय गरेका सातमध्ये पाँचवटा फिल्म सुपरहिट दिएका उनी अहिले फिल्म ‘ए मेरो हजुर ४’ को तयारीमा व्यस्त छन् । फिल्मको केही दिनयता वर्कसप चलिरहेको छ । डेब्यू फिल्मदेखि नै कुनै अभिनेत्रीसँग दोहोर्‍याएर काम नगरेका उनले यो फिल्ममा दोस्रो पटक अभिनेत्री सुहाना थापासँग रोमान्स गर्दैछन् । 
 
अर्को वर्षको दशैंको फूलपातीलाई प्रदर्शन मिति तोकिएको फिल्मको यही साताबाट छायांकन सुरु हुने जानकारी प्राप्त छ । झरना थापाले निर्देशन र सुनिल कुमार थापाले निर्माण गर्ने फिल्ममा सलोन बस्नेतको पनि अभिनय रहनेछ । यो फिल्मपछि अभिनेता अनमोलले आफ्नो होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ गर्ने बताइएको छ । यसमा उनको अपोजिटमा जसिता गुरुङ देखिँदैछिन् ।
 
तर, अभिनेता अनमोल केसीले ‘ए मेरो हजुर ४’ पछि ‘लुट’ निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको फिल्म ‘पारस’ गर्ने सम्भावना बलियो देखिएको छ । उनी यो फिल्म कुनै हालतमा उम्काउने पक्षमा नभएको स्रोतले जानकारी दिएको छ । अनमोल र उनका पिता भुवन केसी दुवैलाई फिल्मको स्क्रिप्ट ज्यादै मन परेको छ । तर, विभिन्न कारणले कागजी सम्झौता हुन सकेको छैन । 
 
 
यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । रोचक कुरा चाहिँ के छ भने उनैले लेखेको फिल्म ‘ब्याचलर बन्टी’ को स्क्रिप्ट चित्त नबुझेर अनमोलले छाडेका थिए । अब, उनै प्रदीपले लेखेको फिल्म ‘पारस’ को स्क्रिप्ट अनमोललाई हदै मन परेको छ । तर, निर्माता वाग्लेले पहिलो पटक निर्देशन गर्न लागेका कारण उनले फिल्म गर्ने वा नगर्ने भन्ने निर्णय लिन सकेका छैनन् । 
 
गोप्य स्रोतले फिल्मीखबरलाई दिएको जानकारी अनुसार, भुवन केसीले निर्देशनको जिम्मेवारी अरुलाई दिएर निर्माता माधव वाग्लेलाई निर्माताको रुपमा बस्न आग्रह गरेका छन् । तर, निर्माता वाग्ले आफूले फिल्म निर्देशन गर्ने घोषणा गरिसकेका कारण पछाडि नहट्ने अडानमा छन् । अनमोल र निर्माता वाग्लेबीच कागजी सम्झौता हुन नसक्नुको मूल जड यसैलाई मानिएको छ । 
 
निर्माता वाग्ले आफैं फिल्म निर्देशन गर्ने अडानबाट टसमस नभएपछि निर्माता भुवन केसीले अनमोललाई पारिश्रमिक दिएर आफूलाई निर्मातामा राख्नुपर्ने र आफ्ना केही विश्वासिला व्यक्तिलाई असिस्टेन्ट डाइरेक्टरको जिम्मेवारी दिनुपर्ने सर्त निर्माता वाग्लेसमक्ष राखेको स्रोत बताउँछ । भुवनको यो सर्तलाई लिएर निर्माता माधव वाग्ले सकारात्मक रहेको बुझिएको छ । 
 
निर्माता भुवनको सर्त मान्न निर्माता माधव वाग्ले तयार भएको खण्डमा अभिनेता अनमोल केसीले होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ भन्दा अगाडि ‘पारस’ गर्न सक्नेछन् । दशवटा फिल्मको निर्माण गरिसकेका निर्माता वाग्लेले निर्माता सधैं मुर्गा मात्र हुने तर फाइदा कलाकार र निर्देशकलाई हुने अवस्थाका कारण आफैंले फिल्मको क्याप्टेनसिप सम्हाल्न लागेको बताउने गरेका छन् । 
Most Visited News (monthly)