Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘परदेशी २’ मा केकीको प्रवेश

फिल्मीखबर, काठमाण्डौ, 2020/02/23
चार वर्षअघि (२०७२) को सुपरहिट फिल्म ‘परदेशी’ को दोस्रो श्रृंखला अर्को वर्षको दशैंमा प्रदर्शन हुँदैछ । महाशिवरात्रीको अवसर पारेर शुक्रवारबाट छायांकन सुरु भएको फिल्मको नेपाल र विदेशका विभिन्न ठाउँमा करीब दुई महिनासम्म छायांकन हुने निर्देशक नारायण रायमाझीले बताएका छन् । विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्षमा फिल्म आधारित हुनेछ ।
 
यो फिल्मबाट ‘बोल माया, गलबन्दी’ गीतका गायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । फिल्मको हिरो बन्ने उनको बाल्यकालदेखिको सपना हो । फिल्मको हिरो बन्ने सपना बोकेरै काठमाडौं छिरेका थिए, उनी । ‘परदेशी २’ बाट आफ्नो बाल्यकालदेखिको सपना पूरा भएकोमा उनी खुसी छन् । फिल्ममा उनको जोडी अभिनेत्री वर्षा सिवाकोटीसँग बाँधिएको छ । 
 
 
‘परदेशी’ को अघिल्लो श्रृंखलामा गायक तथा अभिनेता प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए । यसको सिक्वेलमा उनी पनि दोहोरिएका छन् । तर, उनको रोल प्रकाश सपुत जति लामो नभएको स्रोत बताउँछ । निर्देशक रायमाझीका लागि प्रशान्त ‘लक्की’ मानिन्छन् । उनले प्रशान्तलाई लिएर बनाएका दुई फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ बक्सअफिसमा सुपरहिट भएका थिए । 
 
छायांकन सुरु भएसँगै ‘परदेशी २’ मा अभिनेत्री केकी अधिकारीको पनि प्रवेश भएको छ । कथाको मागअनुसार फिल्ममा उनलाई अनुबन्ध गरेको निर्देशक रायमाझीले जानकारी दिए । उनले भने, ‘फिल्ममा उहाँ (केकी अधिकारी) को भूमिका पावरफूल छ । उहाँ र वर्षाको रोल फिल्ममा बराबर जस्तै छ ।’ केकीले ‘परदेशी’ को सिरिजमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेकी छन् । 
 
रमेश वि.जीको कथा तथा पटकथा रहेको फिल्ममा नीर शाह र गायक प्रकाश सपुतका भाई देवेन्द्र बब्लुको पनि अभिनय रहनेछ । नारायण रायमाझी र राजेश वंशल निर्माता रहेको फिल्मको कथा निर्देशक रायमाझी आफैंले तयार पारेका हुन् । फिल्ममा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र मान कृष्ण महर्जनको छायांकन रहनेछ ।
Most Visited News (monthly)