Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 4.47/5.00)
Text size:-
+
-

‘सेन्टी भाइरस’ को आक्रामक कमाई, हलमा देखियो ‘धुर्मुस-सुन्तली’ को क्रेज (फोटोसहित)

फिल्मीखबर, काठमाडौं, 2020/02/22
 
आफ्ना हरेक नयाँ फिल्ममा स्थानीय कथा र पात्रलाई समेट्दै आएका रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । कलाकारिता हुँदै सामाजिक कार्यमा होमिएको हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले पहिलो पटक ठूलो पर्दामा स्क्रिन साझेदार गरेका कारण यो फिल्मको दर्शकमाझ लामो समयदेखि प्रतिक्षा थियो ।
 
शुक्रवार महाशिवरात्रीको सार्वजनिक विदाको अवसर पारेर प्रदर्शनमा आएको ‘सेन्टी भाइरस’ ले बक्सअफिसमा आक्रामक कमाई गरेको छ । प्रदर्शनको पहिलो दिन (शुक्रवार) नै एक करोड बाह्र लाख कमाउँदै बम्पर ओपनिङ गरेको फिल्मले शनिवार पनि आक्रामक कमाईको रफ्तार जारी राखेको छ । शनिवार फिल्मले कमाईमा ठूलो उछाल कायम गर्ने वितरकको भनाई छ ।
 
 
फिल्मको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खर्चिने ‘धुर्मुस सुन्तली’ ले घोषणा गरिसकेका छन् । यो घोषणाका कारण पनि फिल्मले हलमा दर्शकको ठूलो भीड तान्न सफल भएको अनुमान गरिएको छ । ‘छ माया छपक्कै’ पछि सुस्ताएको नेपाली फिल्मको व्यापार ‘सेन्टी भाइरस’ ले धेरै हदसम्म चलायनमान बनाएको छ । 
 
शुक्रवार फिल्मले मल्टीप्लेक्स र सिंगल थिएटर दुवैतर्फ दर्शकको राम्रो साथ पाएको थियो । पहिलो दिनको तुलानामा शनिवार हलमा फिल्म हेर्ने दर्शकको अत्याधिक चाप देखिएको छ । शनिवार दिउँसोको शोमा फिल्मको टिकट समेत अभाव भएको हल सञ्चालकले बताएका छन् । मल्टीप्लेक्सहरुमा उच्च सोज पाएको फिल्म हेर्न हलमा युवा पुस्ताका दर्शक बढी देखिएका छन् ।
 
 
शुक्रवार र शनिवार फिल्मका प्रमुख कलाकार ‘धुर्मुस सुन्तली’ राजधानीका गोपीकृष्ण, अष्टनारायणलगायतका हल पुग्दा उनीहरुसँग सेल्फी खिच्न र हात मिलाउन दर्शकको ठूलो भीड लागेको थियो । भने, दर्शकले ‘सेन्टी भाइरसकी जय’ भन्दै नारा लगाएका थिए । फिल्म हेरेर रंगशाला निर्माणमा सहयोग गरेको भन्दै ‘धुर्मुस सुन्तली’ ले दर्शकलाई धन्यवाद दिएका छन् । 
 
शनिवार बालाजुमा रहेको विएसआर मुभिजमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका कलाकार सितारामले फिल्म हेर्दै गर्दा राष्ट्रका लागि पनि योगदान हुने बताए । फिल्म हेर्न हलमा रहेका दर्शकलाई सम्बोधन गर्दै उनले भने- ‘तपाईंहरुले फिल्म हेरेर मनोरञ्जन लिनुका साथै क्रिकेट रंगशाला निर्माणका लागि पनि सहयोग हुनेछ । तपाईंहरुले फिल्मलाई दिनुभएको साथप्रति हामी नतमस्तक छौं ।’
 
 
त्यस्तै, कलाकार कुञ्जना घिमिरेले फिल्म हेरेर रंगशाला निर्माण अभियानमा जोडिएकोमा दर्शकलाई धन्यवाद दिइन् । उनले भनिन्, ‘रंगशालामा तपाईंहरुको पनि अपनत्व होस् भन्नका लागि हामीले यो फिल्म लिएर आएका हौं । तपाईंहरुले फिल्मलाई दिनुभएको साथप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । यो फिल्मबाट मेरो २८ वर्षपछि अभिनेत्री बन्ने सपना पनि पूरा भएको छ ।’ 
 
राजधानीसँगै मोफसलका प्रमुख स्टेशनहरु पोखरा, बुटवल, विर्तामोड, इटहरी, दमक र चितवनका पर्दाहरुमा पनि फिल्म शुक्रवार र शनिवार हाउसफुल रहेको वितरकले जानकारी दिएका छन् । दुई दिन परेको सार्वजनिक विदाको फाइदा फिल्मले बक्सअफिसमा गजबले उठाएको छ । आइतवारबाट भने फिल्मको कमाई कस्तो हुने भन्नेमा वर्ड अफ माउथले निर्धारण गर्नेछ । 
 
 
फिल्ममा ‘धुर्मुस सुन्तली’ का अलावा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको फिल्मका गीतमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाले संगीत भरेका छन् ।
Most Visited News (monthly)